काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारमा सहमति जुटाएका छन् ।

सहमतिअनुसार उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ ।

नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।

जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।

यो सहमति बनेसँगै ३० वैशाखम हुने स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, परिवार दल र जनमोर्चाका विद्रोही पक्षसँग स्थानीय तहमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पनि केही स्थानीय तहसँग एमालेको तालमेल हुने सम्भावना छ भने लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावी तालमेलको उत्तिकै सम्भावना छ ।

यो अवस्थामा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच महानगरसँगै उपमहानगरहरूमा पनि रोचक र चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामलाई आधार मानेर दुई गठबन्धनले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आंकलन गर्न सकिन्छ । नयाँ मतदाताको निर्णय, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ ।

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको मत कति काट्छ भन्ने निश्चित छैन । एकीकृत समाजवादीले एमालेमा पारेको क्षति स्थानीय तह अनुसार फरक हुन सक्छ ।

त्यस्तै राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाएका कमल थापाले राप्रपाको कति हिस्सा प्रभावित गर्छन् भन्ने पनि अनुमान गर्न नसकिने छ । यसले पनि गठबन्धनका उम्मेदवारको जित हारलाई प्रभावित पार्नेछ ।

२०७४ सालको मत परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनको अवस्थाको आधारमा ११ उपमहानगरपालिकामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ को निर्वाचन फर्केर हेर्दाः हेटौंडा उपमहानगरपालिका ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो, तर बाजी एमालेले मार्‍यो । एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए । माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेस उम्मेदवारले २२ हजार ५०९ मत ल्याए ।

गठबन्धन आवद्ध दलका उम्मेदवारले मेयरमा पाएको मत २३ हजार ६१५ पुग्छ । यो एमालेले प्राप्त गरेको मतभन्दा ४९१ मत कम हो । यसपटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेको छ ।

गत चुनावमा राप्रपाले ६ हजार ८५७ मत प्राप्त गरेको थियो । यसरी हेर्दा एमाले गठबन्धनको उम्मेदवारका लागि यो चुनावमा थप अनुकूलता देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारहरुको मत हेर्दा पनि हेटौंडा उपमहानगरमा एमाले गठबन्धन बलियो देखिन्छ । एमालेका उम्मेदवारहरुले २१ हजार ७०९ मत ल्याउँदा काँग्रेस गठबन्धनले २८ हजार ३१५ मत ल्याएको देखिन्छ । एमाले एक्लै उभिँदा ६ हजार ६०६ मत ल्याए पनि राप्रपा नेपालका वडाध्यक्षहरुले प्राप्त गरेको मत ७ हजार ५४ देखिन्छ । यद्यपि, राप्रपा र एमाले विभाजनले यो हिसाबकिताब प्रभावित भने हुनसक्छ ।

साभार अनलाइन खबर