हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका छन । काँग्रेस र माओवादीले बकैया गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र दुई वटा वडाहरुमा मिलेर जाने भएका छन ।

गठबन्धमा बकैया गाउँपालिका अध्यक्षमा काँग्रेसका धर्मराज लामिछाने, उपाध्यक्षमा माओवादीका भक्तबहादुर खत्रीलाई सघाउने सहमति भएको हो । बकैया गाउँपालिकाको १२ वटा वडाहरु मध्ये वडा नम्बर १० र १२ मा पनि काँग्रेस माओवादी मिलेर जाने भएका छन । १० नम्बर वडामा वडा अध्यक्ष सहित दुई सदस्य काग्रेस बाँकी सदस्य माओवादी र वडा नम्बर १२ मा वडा अध्यक्ष र १ जना सदस्य काग्रेस र बाँकी सदस्य माओवादीलाई दिने सहमति भएको हो ।

त्यस्तै वडा नम्बर २ मा माओवादी र एकीकृत समाजवादी बिच गठबन्धन भएको छ । वडा नम्बर २ मा माओवादीलाई अध्यक्ष र सदस्यहरु समाजवादीलाई दिने सहमति भएको हो ।

बकैया गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित २, १० र १२ नम्बर वडामा गठबन्धन भएपनि अन्य वडाहरुमा मित्रवत् प्रतिष्पर्धामा जाने भएका छन ।

गठबन्धन भएपछि अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा) ले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । सत्ता गठबन्धनका उम्मेद्वारहरुलाई सघाउन उम्मेद्वारी फिर्ता लिएको जनाईएको छ ।