

हेटौंडा । के तपाई लागु पदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउँदै हुनुहुन्छ? यदि हो भने ? होसियार ! हुनुहोस् । जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडाले लापसे गरेर सवारी चलाउनेलाई कार्वाही गर्ने भएको छ ।
हेटौंडा ११ थानाभर् याङमा रहेको ट्राफिक प्रहरीले हेटौंडा पिसाबाट लापसे जाँच गरेर कार्वाही थालेको छ । प्रहरीले आजदेखि अभियान थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापा (प्रहरी निरीक्षक) ले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले लागुऔषध सेवन गरि सवारी चलाउनेको पहिचान तथा कारबाहीका लागि आजबाट कार्यालय अगाडी परीक्षण कीट मार्फत चालकको अवस्था जाँच सुरु गरेको हो ।
सवारी दुर्घटनाको एक कारण लागु पदार्थ सेवन (लापसे) रहेको पाइएपछि ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच अभियान चलाएको बताएको छ । लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि लापसे जाँच अभियान सुरु गरेको प्रहरी प्रमुख थापाले बताए ।
हेटौंडा ११ थानाभर् याङमा रहेको ट्राफिक कार्यालयले पुर्वपश्चिम राजमार्गमा चल्ने सवारी चालकहरूको मूत्र परीक्षण सडकमा नै गर्न सुरु गरेको हो । नेपालमा ’ड्रग युरिन टेस्ट किट’ बाट सडकमै जाँच गरिएको यो नयाँ प्रयोग भएको कार्यालयले दाबी गरेको छ ।
मादक पदार्थ सेवन गर्दा समातिने डर भए पछि चालकहरूले लागु पदार्थ सेवन गर्न थालेको प्रहरीको भनाइ छ । ब्रेथलाईजरबाट मापसे जाँच गरिन्छ भने ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पत्ता लगाउन सकिने छ ।
सवारी चालकलाई सानो डब्बामा पिसाब लिएर आउन लगाउँछौँ र उक्त पिसाबलाई किटमा हाल्दा ३० सेकेन्ड भित्र लागु पदार्थ खाएको वा नखाएको थाहा हुने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्