हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले उम्मेदवारहरु संग निर्वाचन आचार संहिता तथा निर्वाचनको कार्यक्रम बारे छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौंडामा भएको छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारहरु संग छलफल गरिएको हो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचन आचार संहिता सबैलाई पालना गर्न आग्रह गरेका थिए । सुरक्षा निकायलाई जानकारी गराएर मात्रै चुनावी कार्यक्रम गर्न उनले आग्रह गरे । चुनावमा प्रचारप्रसारमा बालबालिकाहरुको प्रयोग नगर्न पनि उनले सबै उम्मेदवारहरुलाई आग्रह गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन आचर संहिता, निर्वाचनमा उम्मेदवारहरुले गर्न हुने र निर्वाचनमा उम्मेदवारहरुले गर्न नहुने काम तथा निर्वाचनमा प्रयोग हुने पोष्टर, पप्लेट, खर्च गर्न पाउने रकम, सवारी साधनको प्रयोग लगायतका बिषयमा जानकारी गराएका थिए । उनले निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरुले सोधेका प्रश्नहरुको जवाफ र जिज्ञासा समेत मेटाएका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाबाट मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।