

हेटौँडा । स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको विभिन्न स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन् । हेटौँडा उपमहानगरपालिका र ईन्द्रसरोवर गाउँपालिकामा वाम लोकतान्त्रिक गठबन्धनमा संलग्न नेकपा एसले मनहरी, राक्सिराङ, कैलाश र वकैयामा भने एक्लै स्पर्धा गरेको छ ।
हेटौँडामा गठबन्धनबाटै मेयरमा उपमेयर मीनाकुमारी लामा उम्मेदवार हुनुहुन्छ । गठबन्धनलाई एमालेका अनन्त पौडेल र राप्रपाका दीपकबहादुर सिंहले पछ्याइरहेका छन् । हेटौँडामा गठबन्धनसँगको स्पर्धामा एमाले र राप्रपा नै चुनौती बनेको छ । यद्यपि राप्रपाका दीपकबहादुर सिंह गठबनधनसँग बलियो स्पर्धी रहेको अनुमान गरिएको छ ।
हेटौँडापछि मनहरीमा नेकपा एसका उम्मेदवारहरुको रोचक स्पर्धा छ गठबन्धनमा रहेका कांग्रेस–माओवादीसँग । मनहरीमा अध्यक्षमा कांग्रेसका रञ्जन कालाखेती र माओवादीकीक सीता पुलामी उपाध्यक्षमा उम्मेदवार हुनुहुन्छ । त्यहाँ समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला विष्टलाई उम्मेदवार बनाएको छ । एमालेले एकराज उप्रेती र सुजिता थिङलाई उम्मेदवार बनाएको छ । गठबन्धनसँग स्पर्धामा होमिएको समाजवादीका उम्मेदवारहरु एमाले भन्दा बलियो भएको गठबन्धनको अनुमान छ ।
गठबन्धन र एमालेसँग त्रिपक्षीय भिडन्त नै छ राक्सिराङमा पनि । पछिल्लो समय राक्सिराङमा राम्रो संगठन भएको समाजवादीले अध्यक्षमा कृष्णबहादुर चेपाङ र उपाध्यक्षमा मिलन लामालाई उम्मेदवार बनाएको छ । गठबन्धनमा कांग्रेसबाट राजकुमार मल्ल र उपाध्यक्षमा माओवादीबाट वनस्तम थिङ छन् । एमालेले बाबुलाल स्याङ्तान र सुन्तली चेपाङलाई अध्यक्ष, उपाध्यक्ष बनाएको छ । चुनावी मैदानमा गठबन्धन कतै समाजवादीको दोडधूपले एमालेसँग कमजोर देखिन्छ कि भन्ने मनसायमा पुगेको छ । राक्सिराङमा एमाले र समाजवादी फरक ढंगले अघि बढे पनि गठबन्धनलाई चुनौती एमाले र समाजवादीकै छ ।
यस्तै, कैलाशमा समाजवादीले अध्यक्षमा टंक लामालाई अध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनबाट कांग्रेसका लोक मुक्तान र माओवादीका बालकुमार मल्ल अध्यक्ष र उपाध्यक्षका उम्मेदवार छन् । एमालेले नरेन्द्र रिजाल र सुकुमाया थिङलाई अध्यक्ष, उपाध्यक्षको उम्मेदवार बनाएको छ । कैलाशमा अध्यक्ष एक्लै उठेका मुक्तान गठबन्धनलाई नै चुनौती बनेका छन् । अघिल्लो चुनावमा माओवादीबाट उठ्नु भएका नरेन्द्र रिजाल यसपटक एमालेबाट उम्मेदवार हुनुहुन्छ ।
यस्तै, ईन्द्रसरोवरमा पाँचदलीय गठबन्धनबाट जीवन लामा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । कांग्रेसले उपाध्यक्ष पाएको ईन्द्रसरोवरमा एमाले बलियो स्पर्धी हो । त्यहाँ कांग्रेसले स्वतन्त्रबाट उम्मेदवारी दिएर गबन्धनलाई नै चुनौती दिएपछि कांग्रेसको असन्तुष्टि छताटुल्ल भएको छ ।
मकवानपुरको वकैया गाउँपालिकामा अध्यक्षमा नारायण तिमिल्सिनाको उम्मेदवारी छ । कांग्रेस र माओवादी गठबन्धनबाट धर्म लामिछाने र भक्त खत्री अध्यक्ष उपाध्यक्षमा उम्मेदवार छन् । एमालेले सरला बोलखेलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
बरिष्ठ पत्रकार रामकुमार एलनको सहयोगमा तयार पारिएको समाचार सामाग्री ।
प्रतिक्रिया दिनुहोस्