हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारका लागि घरदैलो अभियान सुरु गरेका छन ।

गठबन्धनबाट नेपाली काँग्रेसका हेटौंडा २ का वडा अध्यक्ष उम्मेदवार बनेका बिष्णु गोपाल महर्जन सहितको नेता कार्यकर्ताको टोलीले हेटौंडाको वनस्खण्डी क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो । अभियान अन्र्तगत गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर मत मागेका थिए ।

हेटौंडा २ का वडा अध्यक्ष उम्मेदवार बनेका महर्जनले ढल व्यवस्थापनदेखि निशुल्क एम्बुलेन्स र स्वास्थ्य बिमा सम्मको प्रतिवद्धता सहित घरदैलो अभियान गरेका हुन । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता महर्जनले आफुले जिते हेटौंडा–२ मा शिक्षा सँगै स्वास्थ्य र विकास निर्माणलाई प्राथमिकताका राखेर काम गर्ने बताए ।

गठबन्धको तर्फबाट हेटौंडा २ को महिला वडा सदस्यमा तारा ढुंगाना लामा, दलित महिला वडा सदस्यमा मैया परियार, वडा सदस्यमा इन्द्र प्रसाद रिजाल र वडा सदस्यमै सुरज बतौंला उम्मेदवार बनेका छन ।

काँग्रेसबाट वडा अध्यक्षका लागि बिष्णु गोपाल महर्जनले प्रदेशबाट टिकट पाएका थिए भने वडा अध्यक्षकै अर्का प्रत्यासी रबिन्द्र प्रसाद घिमिरेले काग्रेस सभापति बुद्ध लामाबाट टिकट पाएका थिए । काँग्रेसबाट सुदिप राजवहाक पनि वडा अध्यक्षकै प्रत्यासी थिए । पार्टीको आग्रह पछि स्वतन्त्र उम्मेदवारी दिएका घिमिरेले मनोनयन फिर्ता लिएर महर्जनलाई नै सहयोग गर्ने भएका थिए । उनलाई पार्टीले जिल्ला आमन्त्रित सदस्यमा मनोनयन गरेको थियो । यता राजवहाकले भने स्वतन्त्रै बाट चुनाव लड्ने अडान त्यागेनन र उनी चुनावी मैदानमा होमिए ।