हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले स्थानीय तहको निर्वाचन (चुनाव)लाई प्रभावकारी बनाउँदै सञ्चारमाध्यम (मिडिया) र पत्रकारलाई निष्पक्ष र तटस्थ रहन आग्रह गरेको छ ।

फोनिजले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन सवै मिडिया, पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गरी तटस्थ रहन अनुरोध गरेको हो ।

फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठ र सचिव रुपा गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकारहरु सामाजिक सञ्जाल र समाजमा समेत तटस्थ र निष्पक्ष रहनुपर्नेमा जोड दिएको छ । कुनै पार्टी र उम्मेदवारको पक्ष वा विपक्षमा एकतर्फी समाचार सामग्री प्रकाशन, प्रशारण नगर्न साथै सत्य, तथ्य, निष्पक्ष, सन्तुलनसँगै सबै पार्टी र उम्मेदवारलाई समान अवसर दिनुपर्ने फोनिजको जिकिर छ ।

‘मिडियारपत्रकारको दायित्व र कर्तव्य निर्वाह गर्दै फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जाल र समाजमा समेत तटस्थ र निष्पक्ष प्रस्तुतीका लागि हार्दिक आग्रह गर्दछौ ।’ विज्ञप्तीमा उल्लेख छ, ‘यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउँन सरकार, प्रहरी/प्रशासन, राजनैतिक दलहरु, उम्मेदवारहरु, नागरिक समाजसँगै सञ्चारमाध्यम(मिडिया) र पत्रकारको भुमिका पनि उत्तिकै बढी रहन्छ ।’

निर्वाचन लोकतन्त्रको एक महत्वपूर्ण प्रक्रिया रहेको भन्दै फोनिजले जनताद्वारा, जनताको लागि, जनताको शासन व्यवस्था भएकाले लोकतन्त्रमा जनप्रतिनिधिको निर्वाचनको विशेष महत्व हुने पनि उल्लेख गरेको छ । ‘निर्वाचन मार्फत् चुनिने जनप्रतिनिधिको स्थानीय, प्रदेश र संघको कानून निर्माण, भौतिक विकास निर्माणमा विशेष अधिकार र कर्तव्य हुने गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘जनता र देशको भविष्यसँग जोडिएकाले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउँन सबै सरोकारवालाले सहयोग गर्नु अति आवश्यक छ ।’