

हेटौंडा । कमल थापा अध्यक्षमा पराजित भएर राप्रपा त्यागेपछि पार्टीमा सक्रिय भएका मधुकर अधिकारीले पनि राप्रपा छाडेका छन् ।
थापाले पार्टी छाडेपछि मकवानपुरसहितका जिल्लामा संगठन विस्तारमा क्रियाशिल देखिएका पार्टीका केन्द्रीय सदस्य अधिकारीले हेटौंडा उपमहानगरपालिकाकाको मेयर पदको उम्मेदवार बन्ने आकाक्षा राखेको भएपनि अन्तिम समयमा आएर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देलबाट धोका पाएपछि राप्रपा पार्टी परित्याग गरेका हुन् ।
हेटौंडाको मेयरमा उम्मेदवार बन्न तयारी अवस्थामा रहेका अधिकारीलाई उछिन्दै दीपकबहादुर सिंहले राप्रपाबाट मेयरको उम्मेदवारी दर्ता गरेपछि अधिकारीलाई धक्का लागेको थियो । सिंहले उम्मेदवारी दर्ता गरेपछि उनले पार्टी प्रति गुनासो गर्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यसपछि उनी पार्टीको गतिविधि र मत माग्ने कार्यक्रममा देखा परेका थिएनन् ।
उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा अधिकारी राप्रपाबाट मेयरमा उम्मेदवार भएका थिए । त्यस समयमा उनले करिब ६ हजार मत ल्याएका थिए । उनले राप्रपा त्यागेसँगै हेटौंडा उपमहानगरपालिकाको निर्वाचनमा राप्रपालाई धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्