

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रको आयोजनामा भएको स्वस्थ आमा प्रतियोगितामा सर्मिला कुमारी घले प्रथम भएकी छिन । ३० जना प्रतियोगिलाई पछि पार्दै घले स्वस्थ आमा घोषित भएकी हुन । प्रथम भएकी घलेले ३५ सय बराबरको पुरस्कार पाएकी थिइन ।
स्वस्थ आमा प्रतियोगितामा गोमा सुवेदी दोश्रो, श्रृजना फुँयाल तेश्रो, करुण छतकुली चौथो र अनिता क्षेत्री सानत्वना भएकी थिइन । उनीहरुलाई चरेशको थाल, कचौरा र गिलास उपहार स्वरुप प्रदान गरिएको वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख जोशीका शर्माले जानकारी दिइन ।
प्रतियोगितामा ६ महिनादेखि २३ महिना सम्मका बच्चाका आमाहरु सहभागी भएका थिए । स्वास्थ्य व्यवहार सुचकको आधारमा ५ जना महिलाहरुलाई छनोट गरि पुरस्कृत गरिएको हो । प्रतियोगितामा आमाको पोषण अवस्थाको लेखाजोखा गरिएको थियो । बच्चाको खोप कार्ड, अस्पतालको जन्म प्रमाणपत्र, स्वास्थ्य विमा कार्ड लगायतको कागजपत्र पनि प्रतियोगीले बुझाएका थिए ।
प्रतियोगितामा स्वास्थ्य व्यवस्थापन समिति सदस्य लिला ढुंगाना, निमित्त प्रमुख जोशीका शर्मा, अनमी अनिशा ढुंगानाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा स्वास्थ्य स्वयंम सेवीकाहरु मीना पराजुली, विना शाक्य केसी, श्रृजना पण्डित, गंगा राजथला, राधा खतिवडा लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्