विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले शनिबार साँझ २६ औं पटक सगरमाथाको आरोहण गरेका छन ।

शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँले तोड्ेको गोरखापत्र अनलाइनले लेखेको छ ।
उनले गतवर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराएका थिए । सेभेन समिट ट्रेकमा आबद्ध रहेर आरोहणमा सहभागी भएका उनी शनिबार सगरमाथाको आरोहण मार्ग निर्माण गर्ने क्रममा २६ औं पटक चुचुरो पुगेका हुन ।

गत वर्षसमेत आरोहण मार्ग निर्माणमा खटिएर उनले नै नेतृत्व गरेका थिए । हिमचितुवाको उपमा पाएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उनले आरोहणमा थप नयाँ कीर्तिमान बनाएका थिए ।

५२ वर्षीय शेर्पाले आफू शरीरले साथ दिएसम्म हिमालमा काम गर्ने तर विस्तारै आधार शिविर म्यानेजर भएर काम गर्ने सोच राखेको आरोहण जानु अघि गोरखापत्र अनलाइनलाई बताए । आरोहणका क्रममा विदेशी आरोहीले कामीरिता शेर्पा जस्तै अनुभवी आरोही गाइडको माग गर्ने भएकाले पनि कामीरिता शेर्पाले सुरक्षित आरोहण र रेस्क्युमा सहयोग गर्न आरोहण गर्नुपर्ने भएको उनको भनाइ छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा जन्मेका शेर्पा १३ वर्षको उमेरदेखि हालसम्म पर्वतारोहण क्षेत्रमा काम गर्दै आएका छन । उनले यस वर्ष गर्ने आरोहणले विश्वका पर्वतारोहीका लागि थप उत्साह र नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताए ।

उनले २४ वर्षको उमेरमा सन् १९९४ मा उत्तरीतर्फको तिब्बती मोहडाबाट पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । त्यसपछि निरन्तर उनले सन् १९९७, १०९८,१९९९,२०००, २००२, २००२, २००३, २००४, २००५, २००६, २००७, २००८ निरन्तर आरोहण गरेका थिए भने सन् २००९, २०१०, २०१३, २०१९ मा एकै वर्ष दुई पटक आरोहण गरेका थिए । त्यस पछि सन् २०१२, २०१३,२०१६, २०१७, २०१८, २०२१ मा गरी २५ औं पटक सगरमाथाको आरोहण गरिसकेका छन ।