भीमफेदी । भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ सहित वडा अध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष हिदम लामाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले वडा अध्यक्षहरुलाई देशको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, देवानी तथा फौजदारी संहिता सहित आवश्यक ऐन कानूनहरु पढेर मात्र काम अघि बढाउन निर्देशन दिए । ‘पदमा बसेपछि हामीले कानून भन्दा माथि कोही चिन्दैनौं’, उनले भने, ‘नाता गोता, साथीभाई आफन्त हेरेर निर्णय गर्ने होइन, हामीले अब कानून मात्रै चिन्छौं ।’

अध्ययन र योजनाको आधारमा मात्र भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रको काम अघि बढाईने लामाले बताए । ‘हामीले २० वर्षपछि कस्तो भीमफेदी बनाउने अहिलेबाटै योजना बनाएर काम अघि बढाउनुपर्छ’, उनले भने, ‘त्यसको लागि सिङ्गो पालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको टिम लिएर म अघि बढ्नेछु ।’

पद तथा गोपनीयताको सपथ पछि पालिका उपाध्यक्ष श्रेष्ठले नेकपा एमाले, गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित सबै राजनीतिक दलहरुको घोषणापत्र र सपना पुरा गर्न साझा ब्यक्तिको रुपमा काम गर्ने बताए । ‘निर्वाचित भइसकेपछि म कांग्रेसको मात्र प्रतिनिधि हैन, सबैको भावना बुझेर युवा जोशका साथ जनताको हितमा काम गर्नेछु ।’ पद तथा गोपनीयताको सपथसँगै उनले आजै पदभार ग्रहण गरेका छन् ।