हेटौंडा । दुवै मिर्गौला फेल भएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सामरीका २९ वर्षीय उद्धवराज ढकालले सहयोगको याचना गरेका छन् । ढकालले दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन् । मिर्गौला रोगी ढकालले हेटौंडा अस्पतालमा हप्तामा दुई पटक डायलासिस गराउँदै आएका छन् । मिर्गौला प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने भएपछि उनले सहयोगी हातहरुलाई गुहार्यका हुन ।

दुवै मिर्गौला फेल भएपछि साढे दुई बर्षदेखि ढकाल अस्पताल धाईरहेका छन । सुरुवाती समयमा हेटौंडामा मिर्गौलाको डायलासिस नहुँदा ढकाल काठमाडौंमा कोठा लिएर उपचार गर्न बाध्य थिए । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले उनी काठमाडौंमै बसेर उपचार गराईरहेका थिए । हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएपछि उनी काठमाडौंबाट हेटौंडा फर्किए र यतै उपचार गराउन थाले ।

ढकाल वैदेशीक रोजगारीको क्रममा दुबई पनि पुगेका थिए । दुई बर्ष बिदेशमा बिताएका ढकाललाई बिदेशमै रहँदा स्वास्थ्यमा समस्या देखिएको थियो । उनले त्यतिबेला त्यहाँको स्वास्थ्य संस्थामा सामान्य परीक्षण गरे र नेपाल फर्किए । नेपाल फर्किएको केही बर्षमै फेरि उनको स्वास्थ्य अवस्था बिग्रियो, पुनः परीक्षण गराउँदा उनको दुबै मिर्गौलाले काम नगर्ने भईसकेको चिकित्साहरुले जानकारी गराएका थिए ।

दुबै मिर्गौला फेल भएपछि उनी काठमाडौंमै कोठा लिएर नियमित डायलासिस गराईरहेका थिए । उनी रोजगारीका क्रममा विदेश जाँदा कमाएको केही पैसा पनि उनको उपचारमै सकियो । उनले गाउँमै रहेको २२ रोपनी जग्गा पनि बेचे, उनको दुई कित्ता जग्गा पनि सकियो, उनी संग भएको नगद जिन्सी सबै सकियो, उपचारमै । उनी नियमित डायलासिस गराउँदै थिए, उनको उपचारमा करिव १४ लाख रुपियाँ सकियो ।

सामान्य कृषिबाट जीवन धानेका ढकाल परिवारको आर्थिक अवस्था झन खस्कदै गयो, कमाएको पैसा सकियो, जग्गा बेचियो, रोग भने जस्ताको तेस्तै रह्यो । आफुसंग भएको सबै पैसा, सम्पत्ति सकेपछि नियमित डायलासिस गर्न उनले गाउँका स्थानीय, शुभचिन्तक र सहयोगी हातसंग सहयोगको अपिल गरे, त्यतीबेला केही रकम संकलन भयो, त्यही रकमबाट उनले उपचारमा केही राहत महसुश गरे । कृषिमा निर्भर रहेका ढकालको घरमा ८० बर्षीय बृद्ध बुवा र ६५ बर्षीय आमा रहेका छन । श्रीमति, एक छोरी सहितको परिवारको जिम्मेवारी पनि उनकै काधमा छ अहिले ।

उनी बिरामी भएपछि बचत रकम सकियो, जग्गा बेच्नु प¥यो, उनी निको भएनन्, स्वास्थ्यले साथ नदिएको उद्धवलाई आफ्नै दाईले पनि छाडे, उनका दाइ छुट्टै बसेका छन अहिले । जायजेथा र सम्पत्ति उपचारमै सकिएपछि उनले मकवानपुर गढी गाउँपालिकामा सहयोगको याचना पनि गरेका थिए, तर उनले पटक पटक सहयोग मागेपनि गाउँपालिकाबाट कुनै सहयोग नपाएको गुनासो गरे । आपत्त पर्दा पनि पालिकाले सहयोग नगरेको उनले गुनासो पोखे । हाल सरकारले मिर्गौलाको डायलासिस सेवा निःशुल्क सुरु गरेपनि रगत जाँच, औषधि र चिकित्सकको सल्लाह बमोजिमको फलफुल र खानेकुराको व्यवस्थामा मासिक १० देखि १५ हजारको हाराहारीमा खर्च भइरहेको उनले बताए ।

मिर्गौलाको उपचारकाक्रममा हालसम्म ढकालको १४ लाख बढि खर्च भई सकेको छ । निरन्तर खर्च जुटाउन नसक्दा डायलासिस गर्न नै छाड्नुपर्ने अवस्था आएको मिर्गौला रोगी ढकालले बताए । ‘उपचारकाक्रममा लाखौं खर्च भईसक्यो, भएभरको सम्पति पनि सकियो,’ ढकालले भने, ‘सबैको साथ र सहयोगमा मिर्गौला फेरौँ भनेको, आफैले त कसरी जुटाउनु त्यत्रो उपचार खर्च ।’

सरकारले निःशुल्क डायलासिसको व्यवस्था गरेपनि निम्न आर्थिकस्तरका परिवार अझै पनि मिर्गौलाको उपचारबाट पछि सर्नुपर्ने अवस्था अनुभव भएको उनी बताउँछन् । डायलाासिस निःशुल्क भएपनि मासिकरुपमा रगत जाँच गर्नुपर्ने, रगत लिनुपर्ने, दैनिक औषधि सेवन गर्नुपर्ने, रगत बढाउने सुई लगाउनुपर्ने, तागतिला खानेकुरा खानुपर्ने, खानपानको व्यवस्था गर्नुपर्ने लगायतका अन्य खर्च धान्न मुस्किल परिरहेको उनले बताए । ‘सरकारले डायलासिस निशुल्क गरिदिएको छ, तर अरु काममा धेरै खर्च हुन्छ,’ उनले भने, ‘खर्चले नपुग्दा डायलासिस नै छाडौंजस्तो भइरहेको छ ।’

उद्धवकी पत्नी रमा देवकोटाले मिर्गौला प्रत्यारोपणका लागि श्रीमानलाई मिर्गौला दिने भएकी छिन । रमा र उद्धवको सम्पूर्ण स्वास्थ्य परीक्षण भईसकेको र मिर्गौला दिन मिल्ने भनेर चिकित्सकले बताएपछि खर्चको अभावमा ढकाल परिवार रोकिएको छ । मिर्गौला प्रत्यारोपण गर्न करिव १५ लाख लाग्ने भएपछि उद्धव जीवन र मरणको दोसाधमा युद्ध गरिरहेका छन । उद्धव यो समाजको प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्तै हजारौं नेपाली मिर्गौला फेल हुँदा त्यसको उपचार र प्रत्यारोपणमा लाग्ने खर्च जुटाउन नसक्दा मृत्युको पर्खाइमा रहनुपर्ने प्रत्येक नेपालीको बाध्यता बनेको छ अहिले ।

अनिल पराजुली
थप जानकारी