हेटौंडा ।  मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयले अतिथिको नाममा रक्सी र चुरोट खुवाएर खर्च गरेको खुलासा भएको छ । वडाध्यक्ष अतिथिका रूपमा आउँदा उनलाई रक्सी र चुरोट खुवाएको बिल विद्यालयले पास गरेको हो ।

मद्यपान र धुम्रपान स्वास्थ्यका लागि हानिकारक रहेको शिक्षा प्रदान गर्ने विद्यालय नै वडाध्यक्षसहित अतिथिहरूलाई रक्सी र चुरोट खुवाउन खर्च गरिरहेको तथ्य फेला परेको हो । विद्यालयको यस्ताे कार्यबारे विद्यालयकै शिक्षक अभिभावक संघको लेखा समिति संयोजक आयुश खड्काले घटना बाहिर ल्याएका हुन् ।

अति गरिब तथा विपन्न चेपाङ तथा तामाङ परिवारका बालबालिका पढ्ने राक्सिराङ–९ खैराङ, अठारेमा रहेको कालिका माध्यमिक विद्यालयले वडाध्यक्ष र अन्य विशिष्ट व्यक्तिहरू आउँदा रक्सी र चुरोट किनेको खर्च अडिट गरेर उठाइसकेको खुलेको छ ।

प्राप्त बिल र विद्यालयको आन्तरिक खर्च विवरण राखिएको हिसाब कपीबाट खुकुरी रम र गोल्डेन वेक नामक रक्सी फरक–फरक मितिमा कैयौँ पटक खरिद गरिएको उल्लेख छ । हिसाबअनुसार ९ र १० पुस २०७७ मा वडाध्यक्ष आउँदा रक्सीका दुईवटा प्रकार ९ पटक भन्दा बढी खरिद गरिएको उल्लेख छ । चुरोट पनि कैयौँ पटक किनेको उल्लेख छ । दुई दिनको मिति राखेर राखिएको हिसाब अनुसार ५ हजार ४ सय २५ रुपैयाँ खर्च भएको छ ।

उक्त रक्सी र चुरोटको बिल भुक्तानीका लागि विद्यालय प्रशासनले दबाब दिएको लेखा समिति संयोजक  खड्काले बताएका छन् । हाल खड्काले पदीय जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् । उनले विद्यालयको पैसामा खुलेआम जाँडरक्सी, चुरोट खाने लगायत विभिन्न शीर्षकमा अनियमितता भएको दाबी गरेका छन् । आफूलाई अनियमितता कदापी मान्य नरहेको भन्दै घटना सार्वजनिक गरेको उनले बताएका छन् ।

‘लामो समदेखि मनभित्र गुम्साएर राखिएको विषय आज खुलासा गर्दैछु । यो भन्दा पहिला कसरी चल्यो, त्यो मलाइ थाहा भएन तर मेरो समितिको कार्यकालमा यसो हुन दिन्नँ, म मान्दिनँ । स्कुलको पैसामा खुलेआम जाँडरक्सी, चुरोट खाने विभिन्न शीर्षकमा अनियमितता, यो कदापी मान्य छैन,’ खड्काले भने ।

खड्काले घटनाबारे गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित पत्रकारहरूलाई जानकारी गराउँदासमेत कसैले चासो नदिएको गुनासो गरे । विद्यालयको अडिटमा पेस्की तथा असुल हुन बाँकी रकम १ लाख २० हजार उल्लेख छ । खड्काले विद्यालयको रकम व्यक्तिले चलाएर हालसम्म फिर्ता नगर्नेहरूको नामसमेत सार्वजनिक गरेका छन् । जसमध्ये विद्यालयका अध्यक्षले ३९ हजार तथा अर्का दुई व्यक्तिले १ लाख १० हजार र ५ हजार फिर्ता नगरेको उल्लेख छ ।

अडिट रिपोर्टमा अतिथि सत्कारमा १३ हजार ८ सय खर्च भएको उल्लेख छ । रिपोर्टमा शिक्षक छनौट भनेर ५० हजार खर्च भएको उल्लेख छ । शिक्षक छनौटमा ५० हजार खर्च हुनुमा भष्ट्राचारको आशंका गरिएको छ । त्यति मात्र हैन, अतिथि सत्कार खर्चमा पुनः ४१ हजार रूपैयाँ खर्च भएको उल्लेख गरिएको छ । विद्यालयको अडिट रिपोर्टअनुसार नै अनियमितता र अनावश्यक खर्च भएको स्पष्ट हुन जान्छ ।

घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको नाममा एक प्रेस विज्ञप्ति जारी भएको छ । विद्यालयका आधिकारिक व्यक्तिको नाम बिनै निस्किएको विज्ञप्तिमा भ्रम फैलाइएको दाबी छ ।

विज्ञप्तिमा सापटी र किराना पसलको बिलमध्ये सापटी रकम फिर्ता हुने भनिएको छ । किराना पसलको बिल विद्यालयसँग सम्बन्धित नभएको भन्दै आवश्यक छानबिन गर्न विद्यालयले नै अनुरोध गरेको छ ।

१५ पुस २०७७ देखि प्रधानाध्यापकको जिम्मेवारी लिएदेखि अनियमितता गरेको पाइएमा कारबाही भोग्न तयार रहेको विज्ञप्तिमा उल्लेख भए पनि प्रअले नाम खुलाउन नचाहेको देखिन्छ ।

शिलापत्रबाट साभार