हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।

राक्सिराङले आगामी आवमा ६२ करोड ३४ लाख १५ हजार रुपैयाँको आम्दानी तथा खर्चको अनुमान गरेको छ । जून चालु आव २०७८/०७९ को तुलनामा करिब ८ करोड रुपैयाँ बढी हो । गाउँपालिकाले चालु आवमा ५४ करोड ७२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी वर्षको बजेटमा चालु खर्च तर्फ ३५ करोड ७५ लाख ७ हजार ५ सय अर्थात कुल अनुमानको ५७.३५ प्रतिशत र पूँजीगत खर्चतर्फ २६ करोड ५९ लाख ७ हजार ५ सय अर्थात कुल अनुमानको ४२.६५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

आागामी आ.व. २०७९/०८० मा केन्द्रीय अनुदानतर्फ वित्तीय समानीकरणमा १० करोड ७७ लाख, सशर्त अनुदान रु. १९ करोड ४२ लाख, विशेष अनुदानतर्फ. १ कारोड ५० लाख, समपुरक अनुदान १ करोड २० लाख र राजश्व बाडफाँडबाट १० करोड ६६ लाख गरी ४३ करोड ५५ लाख १७ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणमा रु. ९६ लाख ९० हजार, सवारी साधन करको बाँडफाँडबाट १ करोड, सशर्त अनुदानबाट ३ करोड १० लाख, विशेष अुनदानबाट.१ करोड ५० लाख तथा समपुरक अनुदान ३ करोड गरी कुल ९ करोड ५७ लाख ५८ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आम्दानीबाट ९ करोड २१ लाख ४० हजार प्राप्त हुने अनुमानसहितको विवरण उपाध्यक्ष थिङले गाउँसभामा पेश गरेका छन् ।

भाौतिक पूर्वाधारको निर्माण तथा नागरिकको क्षमता अभिवृद्धि मार्फत रोजगारीका अवसरहरु वृद्धि गर्दै आर्थिक समता कायम गर्ने दिशामा गाउँपालिकाको बजेट उद्दत हुने उपाध्यक्ष थिङले बताए । राक्सिराङ गाउँपालिकाको चौतर्फी विकासका लागि सरकारी श्रोत परिचालनलाई प्रभावकारी बनाउने उद्देश्य पनि बजेटले लिएको छ । गाउँ कार्यपालिका र अन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्ने पनि प्रतिवद्धता जनाइएको छ । विकासका हरेक क्रियाकलापमा नागरिकको सहभागितालाई सुनिश्चित गरी नागरिकको क्षमता विकास र श्रोतको उच्चत्तम उपयोगलाई सुनिश्चित गर्ने पनि जनाइएको छ ।

चालु आर्थिक वर्षमा करिब ९५ प्रतिशत बजेट खर्च हुने संशोधित अनुमानसमेत पेश गरिएको छ । चालु आवमा आन्तरिक आयतर्फ कुल रकम रु. ८ करोड ८४ लाख ९१ हजार संकलन हुने अनुमान गरिएकोमा हाल सम्ममा ९ करोड ३४ लाख ९३ हजार संकलन भइसकेको जनाइएको छ । शिक्षा, स्वास्थ्य, पोषण, खाद्य सुरक्षा तथा सम्प्रभुता जस्ता लक्ष्य बजेटले निर्धारण गरेको छ भने खानेपानी, सरसफाई, वातावरण संरक्षण, भूक्षेत्र एवं प्राकृतिक स्रोतको दीगो उपयोगलाई पनि प्राथमिकता दिएको छ । भौतिक तथा आर्थिक पूर्वाधारको विकासमार्फत जिविकोपार्जन सुधार, कृषि, पशुपालन, मौरीपालन क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको साझेदारीबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलगायतको लक्ष्य पनि निर्धारण गरिएको छ ।

गाउँपालिकाको आगामी वर्षकोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक टोल एक उत्पादन विशेष कार्यक्रम लागु गर्नुका साथै डिजिटल माटो परिक्षण मिनिल्याव स्थापना गरिने बताए । रैथाने बाली संरक्षण गरी सोको उत्पादन बृद्धिको लागि रैथाने बाली प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्नुका साथै कृषि बाली एवम पशुपन्छि बीमा कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाईने नीति पनि लिइएको छ । यूवाहरुलाई कृषि कर्ममा आकर्षित गर्न अध्यक्ष किसान लगानी कोष तथा कृषि ऋणमा ब्याज अनुदान जस्ता कृयाकलापहरुलाई निरन्तरता दिने जनाइएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न घरपरिवारहरुलाई ७५ प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न उपाध्यक्ष स्वास्थ्य बीमा अनुदान कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । गाउँपालिकाबासीहरुको आफ्नै राक्सिराङ्ग आधारभुत अस्पताललाई पर्याप्त जनशक्ति र प्रविधियूक्त बनाई स्वास्थ्य बिमा र फार्मेसी सहितको सेवा सञ्चालन गरि यहाँका बिरामीहरुलाई आफ्नै पालिकाभित्र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख ।

चेपाङ्ग छात्रवृत्ति, बुहारी छात्रावृत्ति कार्यक्रमहरुलाई निरन्तरता दिदै विपन्न, अपाङ्ग, द्वन्द्वपिडित एवम शहिद परिवारका छात्रछात्रालाई प्रोत्साहन गरी विद्यालय शिक्षाप्रति आकर्षण गर्ने बताइएको छ । स्थानीय गौरवका ठूला एवं वहुबर्षीय आयोजनाहरु सञ्चालनमा विशेष जोड दिइने नीति राक्सिराङले लिएको छ । गाउँपालिकाको बजारोन्मुख बस्तिहरु, पलाँसे, चैनपुर, राक्सिराङ्ग, अठारे, चौकिटार र सिलिङ्गे मा व्यवस्थित वस्ति विकास र नक्सा पास सहितको पक्कि भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड तयार गरी कार्यान्वयन गरिने पनि अध्यक्ष मल्लले बताए ।

प्रदेश सञ्चारबाट