हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ८३ जना करारमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । नेकपा एमाललेको हालिमुहालि भएको बेला नियुक्ती भएका सबै करारका कर्मचारी हटाउने निर्णय भएको हो ।

असार ३१ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाभित्रको विभिन्न क्षेत्रमा कार्यरत ८३ जना कर्मचारीलाई हटाउने निर्णय गरेको हो । असार मसान्तदेखि करार म्याद सकिएको भन्दै गाउँपालिका कार्यालय मतहतका वडा कार्यलय, स्वास्थ्य चौकी लगायत कार्यालयमा करारमा कार्यरत कर्मचारीलाई हटाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले एक सुचना जारी गरी उक्त कर्मचारीहरुको जिम्ममा भएका नगद तथा जिन्सी सामाग्रीहरु कार्यालयमा बरबुझारथ गर्न र हाजरी नगराउनको लागि गाउँपालिकाको विभिन्न शाखा, वडाकार्यालयहरु, स्वास्थ्य चौकी, इकाईलाई निर्देशन दिएका छन् ।

यसअघि मकवानपुरगढीमा एमालेको सेट हुँदा आफ्नो आफन्त र कार्यकर्ता नियुक्ती गरेका थिए । करारका कर्मचारीहरु यसअघिका नेतृत्वले नियुक्ती दिएका कर्मचारीहरु हुन् । गाउँपालिकामा हाल आएका नेतृत्वले धेरै जसो एमाले निकट कर्मचारी भएकोले उनिहरुलाई हटाएर गठबन्धन निकट कर्मचारी ल्याउने तयारी भइरहेको बुझिएको छ ।

साउन १५ भित्र करारमा नयाँ कर्मचारी सिफारिस गर्ने वडा नं.६ का वडाअध्यक्ष कृष्ण बजागाईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।