हेटौंडा । मकवानपुरकाे कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् ।

यो बर्ष पालिकाको प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिने निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । छात्रवृत्ति पाएका विद्यार्थीहरूले नामटारमा रहेको कालिका मा.वि. प्राविधिक शिक्षालयमा अध्यापन गराइनेछ । छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गरी साउन २६ गतेभित्र गाउँपालिका कार्यालयमा विवरण बुझाउन सबै वडा कार्यालयहरूलाई निर्देशन गरिएको छ ।

गएको बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरिएको अध्यक्ष मुक्तानको भनाई छ । उनले चुनावको समयमा गरिएका प्रतिबद्धतालाई क्रमशः पूरा गर्दै जाने पनि प्रतिवद्धता व्यक्त गरे ।