

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पती सतिसाल सहित ३६५ वटा बिरुवा रोपिएको छ ।
सामुदायिक वन तथा भू–संरक्षण दिवस २०७९ को अवसरमा डिभिजन वन कार्यालय मकवानपुरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा सतिसाल, विजयसाल, एभोकाडो, निम, अमला, पिटौजिया प्रजातिको बिरुवा रोपण गरिएको हो । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
सतिसाल २०० गोटा, विजयसाल ७० गोटा, एभोकाडो १४ गोटा, निम २५ गोटा, अमला ५० गोटा र पिटौजिया प्रजातिको ६ गोटा बिरुवा रोपण गरिएको सहायक वन अधिकृत बसन्तराज गौतमले जानकारी दिए । सतिसाल लोप हुने अवस्थामा पुगेको छ । सतिसालको काठ मूल्यवान मानिन्छ । त्यसैले सतिसालको काठ सजिलै र महँगोमा बिक्री हुने गरेको छ । सतिसालबाट बन्ने दराज, कुर्सी, टेबल जस्ता फर्निचरहरूलाई तराई तथा भारतीय बजारका कुलिन घरानाका जमिन्दारले प्रयोग गर्ने गरेका कारण पनि यसको विगत वर्षहरूमा निकै विनाश भएको अध्ययनले देखाएको छ ।
सतिसाल फूल फुल्ने र सिरसकै जस्तो कोसामा बीउ लाग्ने तर काठ भने चक्र र धर्साबुट्टा कालो रातो रङको हुने अति बहुमूल्यवान काठ मानिन्छ । यसबाट बनेका फर्निचर विश्व बजारमा नै मूल्यवान छ । मन्दिरका टुँडाल, घरका फर्निचर, मेच, टेबल, झ्याल, ढोकाका लागि सतिसाल ज्यादा प्रयोग गरिन्थ्यो । सतिसालको काठमा बुट्टा सजिलै काट्न सकिने र बुट्टा पनि सुन्दर देखिने हुनाले उच्चस्तरको फर्निचरको रूपमा सतिसाल मूल्यवान मानियो ।
वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत शिव सापकोटा, वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विधानाथ झा, डिभिजन वन कार्यालय मनहरी राप्तीका डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्य, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वन तथा वातावरण मन्त्रालयका नीजि सचिव रमेश दुलाल, बागमती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दन्तलाल माझी लगायतकाले बृक्षारोपण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्