हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले हावा बेचेर डलर कमाउन सकिने बताएका छन् ।

सामुदायिक वन तथा भू–संरक्षण दिवस २०७९ को अवसरमा डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ लमकानामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण प्रदुषण गर्ने देशले वन तथा वातावरण जोगाउने देशलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको उनले बताए । हामीले वन तथा वातावरण जोगाएर राम्रो बनायौं भने त्यो बराबरको क्षतिपूर्ती पाउँछौं, उनले भने–हामी सबैको दायित्व वन तथा वातावरण जोगाउनु हो ।

वातावरण बिगार्ने देशले वातावरण संरक्षण गरिरहेको देशलाई सहयोग गरे जस्तै वन जोगाएका स्थानीय तहलाई प्राथमितामा राखेर सरकारले बजेट बिनियोजन गर्नुपर्नेमा उनले जोड दिए । बागमती गाउँपालिकामा नदि उकासका जग्गाहरु धेरै रहेकाले यसको संरक्षणका लागि बास रोपण गर्नका लागि यहाँका स्थानीयलाई प्रदेश सरकारले सहयोग गर्न तयार रहेको उनले बताए ।

उत्पादन संग जोडिनेगरि यहाँका उपभोक्तालाई आर्थिक रुपमा पनि सवल बनाउने खालका कार्यक्रम संचालन गर्न उनले सुझाव दिए । वन प्रवद्र्धनका लागि बृक्षारोपण गरिदा यहाँ रोपण गरिएको बृक्षले यहाँका स्थानीयलाई प्रत्यक्ष लाभ हुने अवस्थाको सिर्जना गर्नमा उनले बिशेष जोड दिए ।

हरेक घरले कम्तीमा एउटा दुईटा बिरुवा रोप्ने, प्राकृतिक रुपमा उम्रिएका विरुवाहरुलाई जोगाउने, खाली रहेको जग्गामा नीजि वनको प्रवद्र्धन गरे वन र वातावरणको संरक्षण हुनेमा कुनै दुइमत नरहेको उनले बताए । खाली जग्गामा बृक्षारोपण गरि नीजि वन वनाउन चाहे बन कार्यालयले सहयोग गर्ने उनको भनाई छ ।

समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिर्दै उनले समुदाय नै मालिक हुनुपर्ने बताए । ठेकेदारले सेटिङ गरेर कहिल्यै एउटा ठेकेदार मौलाउने काम नहोस, उनले भने समुदायले जस्ताको तेस्तै फाइदा लिन पाउनुपर्छ । सामुदायिक वनका अध्यक्षका छोराहरु नै ठेकेदार हुने र सुरु देखि नै सेटिङ गरेर एउटा रुखमा टाचा लगाएर अर्को रुख काट्ने लगायतका बिकृतिलाई वन डिभिजनले गम्भीर भएर हेर्न उनले निर्देशन समेत दिए ।