हेटौंडा । मकवानपुरका अग्रज पत्रकार तथा लेखक लक्ष्मण बजगाईँद्वारा लिखित ‘श्रमशक्ति ब्यवस्थापन’ पुस्तक हेटौंडामा विमोचन गरिएको छ ।

न्युज क्लब नेपाल हेटौँडामा मंगलबार भएको कार्यक्रममा पुस्तकको विमोचन भएको हो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, लेखक तथा विश्लेषक रामचन्द्र आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

आफ्नो १६ औँ पुस्तकबारे जानकारी दिँदै लेखक बजगाईँले पुस्तकले श्रम बजार तथा श्रमशक्ति ब्यवस्थापनको बारेमा महत्वपूर्ण विषयलाई उजागर गर्न खोजेको बताए । पुस्तकबारे बोल्दै विश्लेषक आचार्यले पुस्तकले नयाँ विषयबारे बहस सुरु गरेको बताए । बजगाईँको पुस्तकबाट स्थानीयदेखि केन्द्रीय सरकासम्मलाई श्रम शक्ति ब्यवस्थापनको पाटोमा सहजिकरण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको प्रदेश सांसद पुलामीले अहिले पुस्तक पढ्ने र किन्ने परम्परा कम हुँदै गएको भन्दै यसो हुनु दुःखको विषय भएको बताए । पुस्तकबाट धेरै विषयको गहन अध्ययन गर्न सकिने भन्दै उनले बजगाईको पुस्तकले श्रमशक्ति ब्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी निकायलाई सहयोग हुने बताए ।

१०१ पृष्ठ लामो पुस्तक ३३ विषयमा श्रम शक्ति ब्यवस्थापनमा रहेको टिप्पणी गरिएको छ । पुस्तकलाई आइटि लाईजेसन नेपाल प्रालिका कृष्णप्रसाद कडेलले प्रकाशनमा ल्याएका हुन् ।