हेटौंडा । नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैंका लागि आवश्यक पर्ने खसी बोका प¥र्याप्त उपलब्ध गराउन सक्षम रहेको नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरले बताएको छ ।

मकवानपुर जिल्लामा दैनिक खपत हुने र चाडपर्वका बेला आवश्यक पर्ने मासुका लागि खसीबोका प¥र्याप्त मात्रामा उपलब्ध गराउन सकिने बताइएको हो । दशैंका लागि आवश्यक पर्ने खसीबोका छिमेकी मुलुक भारत तथा अन्य जिल्लाबाट ल्याउन नपर्ने नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरका विवेक (झम्कनाथ) सुवेदीले बताए ।

हाल जिल्लाको १० वटै स्थानीय तहमा बाख्रापालक व्यवसायीले जिल्लामा आवश्यक मासु उपलब्ध गराउन सक्षम रहेको उनले जानकारी दिए । प्रत्येक पालिकाबाट मासुका लागि तयारी खसीबोका संकलन गरिने छ । जिउँदो खसीबोकाको जिल्ला दररेट कायम गरेर जिल्लामा सहज रुपमा खसीबोका उपलब्ध गराईने उनले बताए । व्यवसायिक बाख्रापालकहरुको छलफलले पहिलो चरणमा ३० किलो भन्दा तलका खसीबोकाको प्रतिकेजी ६ सय रुपियाँ, ३० देखि ४० केजी सम्मको प्रतिकेजी ६५० रुपियाँ र ४० केजी भन्दा माथिका सबै खसीबोकाको मुल्य प्रतिकेजी ७ सय रुपियाँ कायम गर्न प्रस्ताव गरेको छ ।

उपभोक्ता मञ्च, मासु व्यवसायी संघ र खाद्य संस्थान संग बैठक बसेर जिउदो खसीबोको अन्तिम मुल्य केही दिनभित्र निर्धारण गरिने अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार हाल मकवानपुरमा न्यूनतम मासुका लागि दैनिक ६० भन्दा बढी खसीबोका खपत हुने गरेको छ ।

जिल्लामा मकवानपुर गढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नं. १५, १६, १७, १८ र १९ मा बढी बाख्रापालन हुने गरेको छ ।