हेटौंडा । मकवानपुरको हेटौँडाभित्रका सहकारीमा आर्थिक अपचलनका घटना बढ्न थालेका छन् । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप चार सहकारीमाथि लागेको छ ।

हेटौँडा कार्यक्षेत्र बनाएर वर्षौदेखि कारोबार गर्दै आएका पुराना र नयाँ गरी चारवटा सहकारीमाथि रकम हिनामिनाको आरोप लागेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आशंकामा अनुसन्धान भइरहेको नियमनकारी निकाय हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ । चार सहकारीमध्ये एक सहकारीको रकम हिनामिना घटना प्रहरीकोमा पुगेको र अन्य तीनवटा सहकारीमाथि हेटौंडा उपमहानगरपालिका कार्यालयले अनुसन्धान गरिरहेको छ ।

रकम हिनामिना भएको प्रमाणित भएपछि प्रहरीकोमा पुगेको घटना हेटौंडा–२, स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको हो । उक्त सहकारीमाथि उपमहानगरले अनुसन्धान गरिरहँदा बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सहकारीका सञ्चालक दुई जना पक्राउ परिसकेका छन् । बचतकर्ताहरूसँग हिनामिना भएको रकम ४६ लाख र अन्य बचत गरी ७६ लाख रुपैयाँ फिर्ता गर्ने तीन महिने म्याद नाघेपछि सहकारीका अध्यक्ष धादिङ फुलखर्कका हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङ प्रहरी हिरासतमा पुगेका हुन् ।

सहकारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि साढे २ सय जना बचतकर्ता उजुरी लिएर प्रहरीमा पुगेका हुन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । जनचेतनासँगै अन्य तीन सहकारीमाथि उपमहानगरपालिकाको उद्योग, सहकारी, पर्यटन शाखाले अनुसन्धान गरिरहेको हो । शाखाले दुई सहकारीलाई १५ दिनको अल्टिमेटम दिएर कारोबार सम्बन्धि सबै कागजात पत्र उपलब्ध गराउन निर्देशन दिइसकेको छ ।

अल्टिमेटम दिइएको सहकारीको नाम भने उपमहानगरले खुलाएन । तत्कालीन डिभिजन सहकारीमार्फत सञ्चालन भइरहेका सहकारी संघीयता कार्यान्वयनसँगै २०७४ सालदेखि हेटौंडा उपमहानगरपालिकामा दायित्व सरेर आएकाले त्यसको नियमन उपमहानगरपालिकाले नै गरिरहेको छ । उपमहानगरको उद्योग, सहकारी, पर्यटन शाखाले बचतकर्ताको बचत हिनामिना गरेको आशंकामा हेटौंडा–१ को एउटा र अर्को हेटौंडा–५ को सहकारीमाथि अनुसन्धान गरिरहेको छ ।

शाखा प्रमुख हिमप्रसाद पौडेलले अनुसन्धानका क्रममा रहेकाले नाम खुलाउन चाहेनन् । ६ दिनअघि उपमहानगरले १ र ५ नम्बर वडाका दुई सहकारीलाई सहकारी संस्थाको पाँच वर्षदेखिको आयव्वय विवरण, कानुनसम्मत भएको प्रमाणितसहित आन्तरिक लेखापरीक्षण बुझाउन निर्देशन दिइएको पौडेलले जानकारी दिए । ‘सहकारी संस्थाहरू संवेदनशील हुनुपर्छ । सयौं गरिब, विपन्न, सोझासोझाको लगानी हुन्छ । सहकारीहरूले रकम हिनामिना गरेको आशंका लागेपछि हामीले अनुसन्धान थालेका हौं । दोषी देखिए हदैसम्मको कारबाही हुन्छ,’ शाखा प्रमुख पौडेलले भने ।

उपमहानगरपालिकाले ४ नम्बर वडाकै एक सहकारीमाथि पनि अनुसन्धान गरिरहेको छ । ४ नम्बर वडाको एक सहकारी सदस्यले ऋण काठमाडौंस्थित एक बैंकबाट बुझाएको तर ऋण रकम सहकारीले इन्ट्री नगरेको भनेर दुःख दिएको भन्दै उजुरी परेपछि कार्यालयले अनुसन्धान गरिरहेको छ । उपमहानगरले हेटौंडाका चार सहकारीमाथि अनुसन्धान गरिरहे पनि अन्य सहकारीमा पनि बचतकर्ताको बचत हराएको जनाइएको छ ।

हेटौँडाका ११ सहकारी गायब, खोज्दै उपमहानगर

हेटौँडा उपमहानगरभित्र कार्यक्षेत्र भएका ११ वटा सहकारीको हालसम्म अत्तोपत्तो छैन । तत्कालीन डिभिजन सहकारीबाट दायित्व सरेर आएका ११ वटा सहकारीहरू हालसम्म पनि कार्यालयको सम्पर्कमा आएका छैनन् ।

ती सहकारीहरूको खोजी भइरहेको शाखा प्रमुख पौडेलले शिलापत्रलाई जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाभित्र कार्यक्षेत्र भएर पनि कार्यालय सञ्चालन नगरी झोलाभित्रै थन्किएका सहकारीहरूलाई कारबाही गर्ने तयारी अघि बढेको हो । तर, सहकारीका सञ्चालकहरू कार्यालयमा उपस्थित नहुँदा थप समस्या बढेको छ । सर्वसाधारणको लाखौं रकम उठाएर कार्यालयसमेत नराखी सञ्चालन हुँदै आएका वा अस्तित्वमै नभएका करिब १३ वटा सहकारीलाई हेटौंडा उपमहानगरले यसअघि खारेजीको प्रक्रियामा लाने जनाएको थियो ।

उक्त सूचनापछि शुक्रबारसम्म दुई वटा सहकारीका सञ्चालकहरू उपमहानगरपालिकाको सम्पर्कमा आएको सहकारी शाखा प्रमुख पौडेलले बताए । सम्पर्कमा आएका सहकारीहरू हेटौंडा–४ स्थित, महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हेटौंडा–२ को युवा वचत तथा ऋण सहकारी हुन् । सहकारीका पदाधिकारी, सदस्यहरूले ऐन नियम नै नपढ्ने कारणले सहकारीहरू अस्तव्यस्त बन्दा झनै समस्या देखिएको पौडेल बताउँछन् ।

उपमहानगरले सहकारी संस्थाहरूमा नियमन गर्न थालेपछि सञ्चालकहरू सचेत भएको उनले बताए । हेटौंडा–१ मा दर्ता भएको नारी बचत तथा ऋण सहकारी, २ नम्बर वडाको जलजला जडिबुटी सहकारी, ३ नम्बर वडाको सुखी भविष्य बचत तथा ऋण सहकारी, ४ नम्बर वडाको जय कालिका बचत तथा ऋण सहकारी, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा ऋण सहकारी, ७ नम्बर वडाको महालक्ष्मी कृषि सहकारी, ११ नम्बर वडाको महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारीको अत्तोपत्तो नरहेको कार्यालयले जनाएको छ ।

यसैगरी, १३ नम्बर वडाको नमोबुद्ध बचत तथा ऋण सहकारी, १६ नम्बर वडाको जुरेथुम कृषि सहकारी संस्था र १८ नम्बर वडाको आँपखोला दुग्ध उत्पादक सहकारी तथा रामधुनी महिला दुग्ध उत्पादक सहकारीलाई उपमहानगरले हालसम्म फेला पार्न सकेको छैन । यी सहकारीहरूको आर्थिक कारोबारमाथि कार्यालयले आशंका गरेको छ ।

शिलापत्रबाट साभार