हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ का १८ वर्षीय किशोर र कैलाश गाउँपालिका–७ निवासी १६ वर्षीया किशोरीबीच हुन लागेको बालविवाह बदर भएको छ ।

विवाह हुन लागेको सूचना बालहेल्पलाइनमा प्राप्त भएपश्चात् उनीहरु दुवैका अभिभावक, बालहेल्पलाइनका प्रतिनिधि र मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, वडा–४ अध्यक्ष प्रकाश थापा, वडा–२ अध्यक्ष राजकुमार पाख्रिन, सामाजिक विकास शाखा प्रमुख सैलश बाँस्कोटासहित टिमले बालविवाह रोक्न सफल भएको सिविन नेपालद्वारा सञ्चालित बालहेल्पलाइन प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

बालबालिका दुवै पक्षलाई बालविवाहका असर तथा परिणाम, कानुनी व्यवस्था, यसबाट दीर्घकालीन असरलगायत विषयमा सचेत बनाइ आइन्दा यस्ता घटना नदोहो¥याउने प्रतिवद्धता गराइनुका साथै आफ्नो टोल र समाजमा यस्ता घटना हुन नदिन सबैले आफ्नो स्थानबाट पहल गर्नुपर्ने उपाध्यक्ष मगरले बताइन् । मनहरी–४ का अध्यक्ष थापाले किशोरले पढ्न इच्छा गरे अध्ययनमा सहयोग गर्ने र सिप सिक्न चाहे वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले २० वर्ष पूरा नभइ विवाह नगर्ने र अभिभावकले यस विषयमा आफूहरुले निगरानी गर्ने र यस्ता घटना दोहो¥याउने प्रतिवद्धता गरेका छन् । किशोरीलाई थप परामर्शका लागि पालिकाले बालहेल्पलाइनको संरक्षणमामा पठाएको जनाइएको छ ।

मकवानपुरमा एक वर्ष अवधिमा ५० वटा बालविवाह घटना बालहेल्पलाइनमा दर्ता भएकोमा ४४ जनाको बालविवाह रोकिएको छ भने चालु आर्थिक वर्षको डेढ महिनामा १० वटा बालविवाह बालहेल्पलाइनमा अभिलेख भएको छ ।

पछिल्लो समय बालविवाह बढ्नुको मुख्य कारणमा अभिभावक र बालबालिकाबीच सम्बन्ध सुमधुर नहुनु, पारिवारिक विचलन, विविध कारण विद्यालय छाड्नु, अभिभावकले बालबालिकालाई मोबाइल उपलब्ध गराउनु, बालबालिकालाई आफन्त, होस्टल वा अन्यत्र राखी अध्ययन÷अध्यापन गराउनु, बालबालिकाबीच सानैमा प्रेमसम्बन्धका नाममा अनैतिक सम्बन्ध स्थापित हुनजस्ता कारण रहेको बालहेल्पलाइनमा दर्ता भएका घटनाले देखाएको बालहेल्पलाइन प्रवन्धक ज्ञवालीले बताए ।

नेपाल समाचारपत्रबाट