हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ मा झोलुङ्गे पुल उद्घाटन गरिएको छ । स्थानीय शंकरखोलामा निर्मित एक सय १४ दशमलव ३० मिटर लामो झोलुङ्गे पुलको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत राक्सिराङ गाउँपालिकासमेतको लगानीमा ४६ लाख १८ हजार रुपैयाँमा विकट गाउँमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणमा राडो नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । पुल निर्माण भएपछि राक्सिराङ ७ नम्बर वडाका गाइबाङ, दामराङलगायतका स्थानका २ सय ५० घरधुरीका करिब २ हजार जनसंख्या लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । झोलुङ्गे पुल बनेपछि बर्खामा विद्यालय जानका साथै एक गाउँबाट अर्को गाउँ जान आउन सहज भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।२०७८ वैशाखामा निर्माण सुरु भएको पुल गत असारमा निर्माण सम्पन्न भएको हो ।

पुल उद्घाटन कार्यक्रममा राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । पुल उद्घाटन गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले पुल निर्माणसँगै स्थानीयलाई सहजता भएको भन्दै त्यसको संरक्षणको दायित्व पनि स्थानीयको भएको बताए । आफूले प्रदेशमार्फत चालु आवमा कार्यान्वयन हुने गरी राक्सिराङमा थुप्रै झोलुङ्गे पुलका योजना हालिएको पनि बताए ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकार आइसकेपछि विकासले फड्को मार्ने क्रममा रहेको बतए । विकट गाउँमा पुल र बाटो पु¥याउन गाउँपालिकाले धेरै कामहरु गरेको उनले सुनाए ।