हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १२ आलदमारमा अहिले ढकमक सयपत्री फुल फुलेको छ । दशैं, तिहार नजिकिए संगै रमणीय वातावरणमा सयपत्री फुल ढकमक फुलेको हो ।

आलदमार स्थित एक विगाह क्षेत्रफलमा व्यवसायीक रुपमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ निवासी २९ बर्षिय सुरज थिङले सयपत्री फूलको खेती गरेका हुन् । उनले व्यवसायीक रुपमा फूल उत्पादन गर्न ३ लाख लगानीमा खेती सुरु गरेका थिए । छिमेकी जिल्ला चितवनको जगतपुरबाट सयपत्री फूलको दश हजार बिरुवा ल्याएर उनले रोपण गरेका थिए ।

फूल फुल्न थालेपछि एक बिरुवाबाट करिव ४ वटा माला तयार हुने उनको भनाई छ । एक बिरुवाबाट न्यूनतम ५० रुपियाँ आम्दानी गर्न सकिने उनको प्रारम्भिक अनुमान छ । प्रति माला ८० रुपियाँको दरले बिक्री गर्न सकिने छ ।

बिरुवा रोपेको ३ महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले कलकत्ते जातको सयपत्री फूल रोपेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडाका लागि आवश्यक पर्ने फूल उपलब्ध गराउन आफुहरु सक्षम रहेको उनले बताए । नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ पर्व र चुनावका बेला आवश्यक पर्ने सयपत्री फूल उपलब्ध गरान सक्षम रहेको उनले बताए । उनले पदमपोखरी क्षेत्रमै करिव ८० हजार सयपत्री फुलका बिरुवा रोपण भएको जानकारी दिए ।

चिसो मौसममा डढुवा तथा पानी जम्दा फूलहरु मर्ने समस्या रहेको उनको अनुभव छ । उनले अब १२ महिना सयपत्री फूलको खेती गर्ने योजना रहेको बताए । सयपत्री फुल नेपालमा उत्पादन लागत भारतको तुलनमा धेरै पर्ने भएकाले सिजनका बेला छिमेकी मुलुक भारतबाट आउने सयपत्री फूलको मुल्य संग प्रतिष्पर्धा गर्न कठिन रहेको उनको भनाई छ ।

गाउँमै बसेर कृषिलाई अंगालेका उनले फूल खेती संगै भीमफेदी गाउँपालिका सुपिङ्गमा एकसय रोपनीमा किबी, पदमपोखरीमा मेवा डेढ बिघामा, ड्राइगनफ्रुड १ बिघा र खरबुजा खेती गरेका छन् । कृषिमा लागेका थिङले स्नातकोत्तर गरेका छन् । उनको धेरै जसो समय बोट बिरुवा र माटो संगै बित्ने गरेको छ ।

थिङले जागिरे जीवन छाडेसंगै च्याउ खेती थालेका थिए । २०६६ सालदेखि च्याउ व्यवसाय गरिरहेका उनले कृषि व्यवसायलाई नै जीविकोपार्जनका आधार बनाउने निधो गरे । एक वर्ष त उनले अनुसन्धान मात्र गरे । ‘के खेती गर्ने ? छोटो समयमा नै आम्दानी गर्न के खेती गर्नु पर्छ ? आफ्नो ठाउँमा माटो सुहाउँदो के उत्पादन गर्न सकिन्छ ? त्यसको बजार कस्तो छ ? लगायतको विषयमा अध्ययन गर्दा एक वर्ष नै बित्यो ।’ त्यति मात्र हैन उनले बजारको अध्ययनको लागि काठमाडौँको बल्खु, कालीमाटी, पोखरा, वीरगन्ज, भैरहवा, विराटनगर लगायत सबै ठुला बजारहरूमा अध्ययन गरे । त्यता गरेपछि फेरी उनले सरकारबाट के सहयोग भइरहेको छ ? भनेर अध्ययन गरेको बताए । गाउँघरमा परम्परागत रूपमा धान, मकै, गहुँ, कोदो खेती गरिरहेको अवस्थामा उनीहरुले मेवा, ड्रागन खेतीको सुरुवात गरेका हुन् । मेवा, ड्रागनफ्रुड र खरबुजाले आम्दानी दिइरहेको छ भने किबीले यो वर्षदेखि आम्दानी दिन सुरु गर्ने उनले बताए ।

उनले फलफूल खेती गर्न चाहने कृषकलाई अरूको देखासिकी नगरि कृषि कर्म गर्नुअघि माटो, बजार, मूल्य लगायतको अध्ययन तथा आर्थिक श्रोत, सिँचाई, बीउ, बिरुवाका बारेमा अध्ययन गरेर मात्रै लाग्न सुझाव दिए ।

युवाहरुले परम्परागत खेतीलाई सुधार गर्दै आधुनिक प्रणालीबाट खेती गर्न पनि सुझाव दिएका छन् । युवाहरुले पदमपोखरी क्षेत्रमा गरेको कृषि कर्मले पदमपोखरीलाई फलफुलको पकेट क्षेत्रको रुपमा परिचित पनि गराएको छ ।

सयपत्री फूलको औषधीय गुण
तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ । ठूलाठूला थुंगासहितको सयपत्रीको माला साह्रै नै राम्रो देखिन्छ । त्यस्तै तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोली तिहारको समयमा घर कार्यालय सजाउनको लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ ।

१६ औं शताब्दीमा मेक्सिकोमा फुलेको सयपत्री फूल बिस्तारै–बिस्तारै अन्य देशहरुसम्म पनि फैलिन थाल्यो । विश्वभरीमा सयपत्री फूलको ५० भन्दाबढी प्रजातिहरु छन् । नेपालमा पनि सयपत्रीका एक दर्जनभन्दा बढी प्रजातिहरु उपलब्ध छन् । सयपत्री फूल नेपालमा निकै लोकप्रिय मानिन्छ । किनभने यो फूलको एउटा विशेषता के छ भने यो फूल वर्षभरी नै फुलाउन सकिन्छ ।

फूल एक प्रतीक अनेक
सयपत्री फूलको बारेमा पुरानो कथन के छ भने यसले मनुष्यको अहंकारलाई कम गर्छ र फूलको केसरी रंगले त्याग र माया–मोहको दुरीलाई दर्शाउँछ । जसरी आत्मा कहिले पनि मर्दैन, केवल शरीरमात्र परिवर्तन गर्छ । यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनेले घरमा नकारात्मकता रहन पाउँदैन । सयपत्री फूलको बारेमा अर्को एउटा रोचक कुरा के छ भने यो फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ । यसले के सन्देश दिन्छ भने तपाईं थाके पनि, निराश भए पनि आफ्नो धैर्यको बलमा आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्नुहुनेछ । उर्जा तथा प्रेरणाले भरिएको यो फूलको नौरंगी रंगको महत्व पनि कम छैन ।

हिन्दूधर्मावलम्बीहरुले तिहारमा प्रयोग अत्यधिक गर्ने सयपत्री फूल देख्न मात्रै राम्रो हुँदैन यसको सेवनले स्वास्थ्यमा पनि फाइदा गर्छ । सयपत्री फूल आकर्षक मात्रै होइन यसमा औषधिय गुण पनि रहेको छ । त्यस्तै यसलाई सौन्दर्य प्रशाधनका विभिन्न उत्पादन बनाउनको लागि पनि प्रयोग गरिन्छ । सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चुर्णको रुपमा प्रयोग गर्न सकिन्छ । यसको सेवन गरेर हामीले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सक्छौं ।

सयपत्रीको तीन ग्राम लेदो वा चुर्ण आधा लिटर तताएको पानीमा मिसाएर दिनमा दुईतीनपटक सेवन गरेमा हामीलाई धेरै फाइदा गर्छ । त्यस्तै रस सेवन गर्दा दिनमा पाँच थोपा दिनको दुईतीनपटक सेवन गर्नुपर्छ ।

यी हुन् सयपत्रीको प्रयोगबाट हुने फाइदाहरुः

–छालासम्बन्धी रोग लागेमा सयपत्री फूलको लेप बनाएर छालामा लगाउन सकिनछ । यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

–पेट फुल्ने र दुख्ने रोगमा सयपत्री फूलको चुर्णको मात्रा मिसाएर औषधि सेवन गरेमा फाइदा हुन्छ ।

–कमलपित्त, अम्लपित्त, पायल्स, पेटभित्र आन्द्रामा घाउ आदि भएमा पनि सयपत्रीको चुर्णले ठिक गर्छ ।

–महिलाहरुले महिनावारीको समयमा रजश्वला हुँदा रगत घटबढ हुने समस्या भएमा सयपत्री फूलको रस सेवनले महिनावारी नियमित बनाउँछ ।

–कलेजोको समस्याबाट आउने ज्वरोमा पनि सयपत्रीको चुर्ण पानीमा मिसाएर खाएमा फाइदा गर्छ । साथै रगतमा विकार बढेमा पनि यसको चुर्ण प्रयोग गरिन्छ ।

–शरीरमा बढेको अत्यधिक गर्मीपन हटाउनको लागि सयपत्रीको चुर्ण पानीमा मिसाएर सेवन गरेमा लाभ मिल्छ ।

परम्पराको अंग
फूलहरुको सजावटको परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ । जब भगवान श्रीराम १४ वर्ष वनवास काटेर अयोध्या फर्किएका थिए, त्यो बेला उनको स्वागत पुष्प वर्षामार्फत नै गरिएको थियो । त्यो बेला पनि सयपत्री फूलकै प्रयोग गरिएको थियो । यसैगरी नेपालका अधिकांश चार्डपर्व अथवा उत्सवको बेला सजावट तथा अतिथिहरुलाई फूलको मालाले स्वागत गर्ने परम्परा छ, त्यो बेला पनि सयपत्री फूल नै प्रयोग गरिन्छ । भनिन्छ, सयपत्री फूलद्वारा जो कोहीको स्वागत गर्नाले उनीहरुको मान–सम्मान बढ्छ ।

अनिल पराजुली
थप जानकारी