हेटौंडा । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा घोषणापत्र निर्माण गर्नको लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले घोषणपत्र तयारी समिति गठन गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी महामन्त्री कृष्णचन्द्र बादेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र राजु नेपाल सदस्य सचिव रहेका छन् । सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीको काम अघि बढाउन निर्देशन दिए ।

समितिले विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरी यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्ने समेत संयोजक बादेले प्रतिवद्धता जनाए ।