

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दशैं, दीपावली र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि पाँच हजार तीन सय ३२ प्रहरी परिचालन हुने जनाइएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको उपस्थितिमा विशेष सुरक्षा योजना सार्वजनिक गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन् । चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको वज्राचार्यले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा नियमित र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरुमा प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा कालाबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्