हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । सेन्टरको विद्युत् गृह अर्थात ब्याट्री ब्याकपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापश्चात् नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार दिउँसो ३ बजेबाट लागेको आगो साँझ करिब ५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौंडा उपमहानगरको दुईवटा दमकलसहित नेपाली सेना, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाग्मती प्रदेश प्रहरी कार्यालय र हेटौंडा उपमहानगरको नगर प्रहरीको टोली परिचालन भएको थियो । आगोलागिबाट भएको क्षतिको विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ ।

सेन्टरलाई राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारको ‘व्याकअप’को रुपमा प्रयोग गरिँदै आएको थियो । करिब साढे तीनवर्ष अगाडिबाट यस सेन्टर सञ्चालनमा आएको हो । आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको इञ्जिनियर अभिनाष झाले जानकारी दिए ।