हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक ५ गतेसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।

गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिए ।
जारी सूचनामा भनिएको छ , ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्रमा नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरिन्छ ।’

गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी सूचना जारी गरिएको हो । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि निर्वाचन मिति घोषणा गरेको छ ।