बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

यो बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।

गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिएकी हुन । बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले बिहीवार भने राजीनामा दिएकी हुन् ।

उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएको बताइन् । नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने उल्लेख गर्दै उनले नयाँ नेतृत्व चयनको प्रक्रिया आउँदो हप्ताबाटै सुरु हुने बताइन् ।

यसअघि अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिएपछि ट्रस नैतिक सङ्कटमा परेकी थिइन् ।