एजेन्सी । रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् ।

राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन र उर्जा संकटको चेतावनी जारी भएको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले झण्डै ४० लाख जना मानिस उर्जा संकटबाट प्रभावित भएको बताएको बीबीसीले जनाएको छ । युक्रेनको ऊर्जा पूर्वाधार रुसी हवाई आक्रमणबाट ध्वस्त भइरहेको छ ।

पाभलो नामक पावर स्टेशनका कर्मचारीले युक्रेनमा पहिलोपटक यस्तो डरलाग्दो आक्रमण र उर्जा संकट देखिएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले देशका लगभग एक तिहाइ विद्युतीय पावर स्टेशनहरू नष्ट भएको बताए । सरकारले सडक बत्ती र विद्युतीय सार्वजनिक यातायातको प्रयोगमा रोक लगाएको छ । यस्तै घरमा पनि कम भन्दा कम विद्युत् उपयोग गर्न आग्रह गरेको छ ।

रुसले अक्टोबरमा क्राइमिया जोड्ने केर्च ब्रिजमा भएको बम विष्फोटको बदलास्वरूप युक्रेनको पावर स्टेशनहरू र अन्य पूर्वाधारहरूमा मिसाइल आक्रमणहरू बढाएको छ ।