दोहा । कतारमा विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब बढेको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो ।

विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् । अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले जनाएको छ ।

कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्सका साथै अफ्रिकी देश केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् । जबरजस्ती बिदामा बस्न लगाइएका कामदारहरूले तलब नपाएको भन्दै आलोचना हुँदै आएको छ ।

आउँदो नोभेम्बर २० देखि विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताको तयारी तथा निर्माण कार्यमा खटिएका श्रमिकलाई गरेको व्यवहारले कतारको आलोचना हुँदै आएको छ ।