हेटौंडा । वैकल्पिक शक्तिको रुपमा स्थापना हुन अघि बढिरहेको लौरो अभियानले हेटौंडा उपमहानगरपालिका, बकैया र बागमतीमा घरदैलो अभियानलाई तीब्र पारेको छ । लौरो चुनाव चिन्ह लिएर लौरो अभियान्ताहरु चुनावी प्रचार प्रसारका लागि मतदाताको घरघरमा पुगेका हुन् ।

मकवानपुरको क्षेत्र नं. १ मा पर्ने उपमहानगरपालिका र गाउँपालिकामा पुगेर लौरोमा मतदान गर्नुपर्ने बिषयमा आम मतदातालाई बुझाउँदै मतदाताको सुझाव संकलन गर्दै उम्मेद्वारहरु अहिले चुनावी मैदानमा रहेका हुन् ।

लौरो चुनाव चिन्ह लिएर युवाको प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) बाट उम्मेद्वारी दिएका दिपेन्द्रचन्द ठकुरी र मकवानपुर क्षेत्र नं. १ (क) बाट प्रदेश सभा उम्मेदवार किशोर रानाले पूर्वी मकवानपुरको बकैया र बागमतीमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

घरदैलो अभियान अन्र्तगत बकैया ४ तामाखोला, ५ भडौरा र बागमती गाउँपालिकाको वडा नं. ३ कुटीभकारी, चिरुवा गड्न, चिरुवा भंगाले, वडा नं. ५ ज्यामिरे, वडा नं. ९ को शिखरकटेरी, गैडे दमार, अधेरी, टुनिटार, रातोमाटे लगायतका गाउँ गाउँमा पुगेर घरदैलो गरिएको हो ।

प्रत्येक मतदाताको घर घरमा पुगेर त्यहाँको समस्या, जनताको अवस्था र आगामी दिनमा उनीहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लौरो अभियानका उम्मेद्वार घर घरमा पुगेर चुनावी प्रचार प्रसार तथा जनताको पिर मर्का बुझेका छन् ।
लौरो चुनाव चिन्ह लिएर युवाको प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका दिपेन्द्रचन्द ठकुरीले पूर्वी मकवानपुर सहित समग्र मकवानपुरवासीको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । उनले व्यवस्थाहरु परिर्वतन भएपनि जनताको अवस्था सधैं उस्तै रहेकाले अब जनताको अवस्था सुधार गर्ने गरि काम गर्ने बताए । पूर्वी बकैया र बागमती विकासको सूचकहरुमा धेरै पछाडि रहेकाले आम मतदाताको साथ पाए उनीहरुको जिवन स्तर सुधार गर्ने प्रतिवद्धता जनाए ।

मकवानपुर क्षेत्र नम्बर–१ को (क) बाट उम्मेद्वारी दिएका किशोर रानाले बकैया, बागमतीमा कृषि पेशमा निर्भर धेरै रहेकाले यहाँको स्थानीयलाई कृषि कर्मका लागि बेलैमा मल, बिउ, सिचाई र कृषि उत्पादन तथा बजारीकरणका लागि सक्दो पहल गर्ने बताए ।

लौरो चुनाव चिन्ह लिएर मतदाता माझ पुगेका उम्मेद्वारहरुलाई जनताले साथ दिने बाचा गरेका थिए । कार्यकर्ताको झुण्ड नलिई घर–घर पुगेका लौरो अभियानकर्मीहरुलाई स्थानीय जनताले स्वागत मात्रै गरेनन्, ठुला दलका नेताहरुलाई पटक पटक जिताएर पठाएपनि चुनाव सकिए पश्चात कहिल्यै गाउँ नर्फकेकोमा आक्रोश पनि व्यक्त गरेका थिए ।

त्यस्तै मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा उम्मेद्वार किशोर अर्यालले हेटौंडा ४ र मेनरोड क्षेत्रमा घरदैलो अभियान गरेका छन् । उनले मतदाताको घरघरमा पुगेर लौरो अभियानबारे मतदातालाई आफ्ना कुरा राख्दै मतदाताको सुझावलाई समेट्दै हिडेका हुन् । उनले शिक्षालाई रोजगारी संग जोड्दै हेटौंडावासीको जिवनस्तर उकास्न पहल गर्ने प्रतिवद्धता जनाए ।

मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दिएर चुनावी अभियानलाई अहिले तिब्रता दिएका छन भने मकवानपुर क्षेत्र नम्बर– १ को (क) बाट प्रदेश सभामा किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएर जनताको घर घरमा पुग्ने अभियानलाई तिव्रता दिएका छन् ।