हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् ।

बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनकै नेतृत्व आवश्यक भएको बताए ।

केपी ओली नेतृत्वको सरकारले २÷२ पटक प्रतिनिधिसभा विघटन गरी समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संविधान जस्ता महत्वपूर्ण उपलब्धी मास्न खोजेको भन्दै संविधानविरोधी तत्वलाई यो निर्वाचनबाट जरैदेखि उखेल्नुपर्ने उनले बताए ।

बानियाँले भने, ‘गणतन्त्र ल्याउने बेलामा लाखौँ जनता सडकमा हुँदा ओली कुनै आन्दोलनमा थिएनन्, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एकै हो भन्दै बसेका ओली सत्तामा रहँदा भ्रष्टाचार र विभिन्न घोटालामा संलग्न रहे ।’

४ वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा बजेट विनियोजनमा कैलाश गाउँपालिकालाई एमालेले उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनामा १८ करोड बजेट पूर्वाधार विकासमा विनियोजन गरिएको उनले बताए ।

कैलाश–९ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिका संयोजक भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य जनक बर्तौला, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सभापति लोकबहादुर मुक्तान, महासमिती समस्य उमा दाहाल, एकीकृत समाजवादी जिल्ला सदस्य अरुण बर्तौलालगायत नेताहरुको उपस्थिति रहेको थियो ।