हेटौंडा । इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोगमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रे दमारस्थित कालाभैरव प्राविमा दुई कोठे पक्की भवन बन्ने भएको छ ।

भवनको शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो । विद्यालयको जीर्ण भवनका कारण शिक्षक एवम् बालबालिका जोखिममा रहेको समाचार बिभिन्न संचार माध्याममा आएपछि बिद्यालय भवन निर्माणका लागि संस्थाले सहयोग गरेको हो ।

जीर्ण भवनका नयाँ बन्ने भएपछि विद्यालयका प्रधानाध्यापक चेतबहादुर घले खुसी भएका छन् । उनले सहयोगी संस्थालाई बिशेष धन्यवाद समेत दिए ।

सहयोगी संस्थाले भवन निर्माणका लागि पहिलो किस्ता स्वरूप १० लाख रुपैयाँ विद्यालयको बैंक खातामा उपलब्ध गराइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष विजय घिसिङले बताए ।

भवन निर्माणको कूल लागत साँढे २१ लाख अनुमान गरिएको पूरा रकम सोही सहयोगी संस्थाबाट प्राप्त हुने अध्यक्ष घिसिङले बताए । ३ महिनाभित्र भवन निर्माण गरिसक्ने योजना लिएर काम अघि बढाइएको छ ।

उनले नजिकै सिमात खोला रहेको कारण बालबालिकाहरु वर्षायाममा ज्यान जोखिममा राखेर विद्यालय आउनुपर्ने बाध्यता रहेको गुनासो गर्दै झोलुङ्गे पुल निर्माणका लागि सहयोगीहरूलाई आह्वान गरेका छन् ।

विद्यालयमा हाल धेत्रे, गोदाम डाँडा, ढिस्कापाखा, चुवार पाखा र अजिंगरेका २७ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको उक्त विद्यालय २०६१ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा छ ।
तस्विरः प्रधानाध्यापक चेतबहादुर घले