

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा भएको वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ ।
शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ४ ‘बी’ ले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पराजित गर्दैै जित हासिल गरेको हो । जितका लागि जर्सी नम्बर ७ का शंकर घलानले गरेको गोल नै अन्तिम निर्णायक बन्न पुग्यो ।
प्रतियोगिताको उपाधी जितेसंगै वडा नम्बर ४ ‘बी’ ले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । उपविजेता वडा नम्बर ३ ले नगद २५ हजारसहित शिल्ड मेडल प्राप्तमा चित्त बुझायो । प्रतियोगिताभर उत्कृष्ट गोलकर्ताको रुपमा वडा नम्बर ४ ‘बी’ कै ३ जनाले जनही एक हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ ‘बी’ कै उमेश पाख्रिन उत्कृष्ट गोल किपर भए भने सर्वोत्कृष्ट खेलाडी भिम बज्यु घोषित भएका छन् ।
बिजेता र उपविजेतालाई मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु ), बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतकाले पुरस्कार वितरण गरेका थिए ।
वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य प्रमिला लामा पुलामी,नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्