हेटौंडा । ललितपुरमा बसेर हेटौंडाका गाईगोरु स्वस्थ रहेको प्रमाणपत्र जारी गर्ने भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधान श्रेष्ठ निलम्बनमा परेका छन् ।

प्रधानले आफ्नो कार्यक्षेत्रमा नपर्ने हेटौंडाका गाईगोरु ढुवानीका लागि भेटेरिनरी प्रमाणपत्र जारी गरेको विषय प्रकाशमा आएपछि पशु चिकित्सकहरूको नियामककारी निकाय नेपाल पशु चिकित्सा परिषदले प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि परिषद्ले निलम्बन गरेको हो ।

परिषदको बैठकले उनीमाथि थप अनुसन्धान गर्न पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम निलम्बनको निर्णय गरेको परिषद्का निमित्त रजिष्ट्रार डा. मनोजकुमार शाहीले जनाएका छन् ।

दुई महिनाका लागि निलम्बनमा परेका उनले अब भेटेरिनरी चिकित्सकका हैसियतमा कुनै गतिविधि गर्न पाउने छैनन् ।

त्यसैगरी, अर्का पशु चिकित्सक रिकेश देव भण्डारीलाई पनि परिषद्ले निलम्बन गरेको छ । पशु चिकित्सकको आचारसंहिताविपरीत गतिविधि गरेको उजुरीपछि उनलाई निलम्बन गरिएको डा. शाहीले बताए ।

चार जनालाई भने सफाइ दिइएको छ । सफाइ पाउनेमा डा.भक्त निउरे, डा. श्यामकृष्ण तिवारी, डा. निमेश खनाल र डा. केशवप्रसाद यादव छन् । उनीहरूविरुद्ध पनि आचरणविपरीतको गतिविधि गरेको उजुरी परेको थियो । प्रारम्भिक छानबिनमा आरोप पुष्टि नभएपछि सफाइ दिइएको हो ।

निमित्त रजिष्ट्रार शाहीका अनुसार ८ जनालाई एक पटकका लागि सचेत गराइएको छ । पाँच जनाविरुद्ध आचारसंहिताविपरीत गतिविधि गरेको उजुरी परेकोमा उनीहरूमाथि अनुसन्धान चलिरहेको शाहीले जानकारी दिए ।

पशुपन्छी एक स्थानबाट अर्को स्थानमा लैजाँदा ढुवानी मापदण्डअनुसार अनिवार्य भेटेरिनरी प्रमाणपत्र जारी गर्नुपर्ने प्रावधान छ । यस्तो प्रमाणपत्र चिकित्सकले आफैं उपस्थित भएर पशु परीक्षण गरी जारी गर्नुपर्ने हचुवाका भरमा गर्ने गरेको घटना पछिल्ला दिन बढेको छ । विभागले यस्तै प्रकरणमा यसअघि पनि दुई चिकित्सकलाई निलम्बन गरिसकेको थियो । नेपालवाचबाट