हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्र सहित १० जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दिएको तथ्याङक अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा ६२ बर्षदेखि ३३ बर्ष उमेरका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगबाट प्राप्त उम्मेद्वारको उमेरगत तथ्याङक अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का उम्मेद्वार बिरोध खतिवडा बृद्ध उमेरका उम्मेद्वार हुन् । उनी उमेरले ६२ बर्ष भए । निर्वाचन आयोगबाट प्राप्त उमेरगत तथ्याङक अनुसार ३३ बर्षका स्वतन्त्र उम्मेद्वार प्रदिप कालाखेती कान्छा उम्मेद्वार हुन् ।


उमेरगत तथ्याङकका आधारमा नेपाल कम्युनिष्ट पार्टीका (मार्क्सवादी लेनिनवादी) उद्धव प्रसाद अधिकारी ६० बर्ष, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली ५७ बर्ष, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली ५४ बर्ष, नेपाल मजदुर किसान पार्टीका रत्न प्रसाद प्रजापति ५१ बर्ष, नेश्नलिष्ट पिपल्स पार्टीका तुला बहादुर लामा ४६ बर्षका रहेका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश कुमार बतौंला ४० बर्ष, मंगोल नेशनल अर्गनाइजेसनका जिवन स्याङतान ४० बर्ष, सचेत नेपाली पार्टी(एकल चुनाव चिन्ह) का कुलेन्द्र दिप विक्रम न्यौपाने ३९ बर्ष र स्वतन्त्र उम्मेद्वार प्रदिप कालाखेती ३३ बर्षका उम्मेद्वार हुन् ।

प्राप्त तथ्याङक अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वारमा सबै पुरुष रहेका छन् । यस क्षेत्रबाट प्रतिनिधि सभामा महिला उम्मेद्वारको संख्या शुन्य रहेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट पनि प्रतिनिधि सभा सदस्य उम्मेद्वारमा एक जनामात्रै महिला उम्मेद्वार रहेको छ । तथ्यगत रुपमा मकवानपुरको निर्वाचन क्षेत्र नं. १ र २ को प्रतिनिधि सभा सदस्य महिला उम्मेद्वार न्यून अर्थात शुन्य बराबर रहेको देखिन्छ ।