हेटौंडा । हेटौंडा–४ हुप्राचौरमा आज शुक्रवार भएको मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता ९ विकेटले हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी
भएको छ ।

पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल इन्फोटेक कलेजलाई मैत्रीपूर्ण खेलमा पराजित गर्दै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएको हो । ९७ रनको लक्ष्य पाएको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले १६ दशमलव २ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । म्यानेजमेन्टका लागि बिशेष बिक्रम थापाले ५० रन र बिशाल फुयाँलले २५ रनको योगदान गरेका थिए । म्यानेजमेन्टका तर्फबाट अहमद रोजा, कृष्ण यादव, सन्तोष दास, बिशाल फुँयालले विकेट लिएको मकवानपुर जिल्लाका राष्ट्रिय एमपाएर बिनोद कुमार बानियाँले अनिरुद्र खबरलाई जानकारी दिए ।

टस जितेर व्याटिङ रोजेको इन्फोटेकले १९ दशमलव ५ ओभरमा १० विकेट गुमाएर ९६ रनको योग तयार पारेको थियो । इन्फोटेकका लागि अबुबकर अन्सारीले २१ रन र सोनु कुशुवाहले १८ रनको योगदान गरे । इन्फोटेकका रन्जित कुँवरले १ विकेट लिएका थिए ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल इन्फोटेक कलेजका प्रिन्सीपल मनिष सिंह र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले क्रिकेट प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका खेलाडी राम नरेश गिरीलाई नियुक्त गरेर नियमित प्रशिक्षण गराइरहेको छ । हेटौंडाको हुप्रचौरमा दैनिक २ घण्टा प्रशिक्षण गराइरहेको छ । प्रशिक्षणमा १५ देखि २० जना खेलाडी सहभागी नियमितरुपमा सहभागी भइरहेका छन् ।