काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो ।

स्थानीयले घेरा हालेपछि सुरक्षाका लागि उद्धार गरी सुरक्षामा राखिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी भरतबहादुर बोहोराले जानकारी दिए ।

उनलाई हाल महाराजगञ्ज प्रहरीमा राखिएको छ भने प्रहरीले गाडी पनि बरामद गरेको छ । प्रहरी कार्यालय बाहिर भने स्वतन्त्र उम्मेदवार हेमराज थापाका समर्थन जम्मा भएर नाराबाजी गरेका छन् ।

एमाले उम्मेदवार निरौलाले भने लामो समयदेखि क्यान्सर रोगबाट पीडित तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे बुझ्न गएको बताएका छन् । साथै उनले पैसा बाँड्न गएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

एमालेको काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले पनि वक्तव्य निकालेर पैसा बाँडेको भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।