कतार । कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२ औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विश्व कप भोलिदेखि सुरु हुँदैछ ।

१२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्नेछन् ।

फिफा र आयोजक देश कतारबीच प्रतियोगिता चलिरहँदा रङ्गशाला वरिपरि बियर बेच्ने कि नबेच्ने विषयमा छलफल हुँदै आएको थियो । अब इजाजत प्राप्त ठाउँमा मात्र जाँड रक्सी बेच्न पाइनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल नेपाली समय अनुसार भोलि राति पौने १० बजे सुरु हुनेछ । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएकोमा कतारको गर्मीका कारण विश्व कप नोभेम्बर–डिसेम्बरलाई सारिएको हो ।