काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको साधारण शेयर (आईपीओ) आज मङ्सिर १४ गतेदेखि निष्काशन खुला भएको छ ।

कम्पनीले निष्काशन खुला गरेको आईपीओमा मंसिर २८ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने कम्पनीको तयारी छ ।

नेपाल धितोपत्र  बोर्ड (सेबोन) ले कम्पनीलाई कात्तिक २३ गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले १२ करोड रुपियाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको जनाएको छ  ।