हेटौंडा । आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने टि–२० विश्वकपमा सहभागि हुने नेपाली राष्ट्रिय टिमलाई आज हेटौंडामा बिदाई गरिएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी हुने दृष्टिविहिन नेपाली राष्ट्रिय टिमलाई बिदाई गरेको हो ।

टोली डिसेम्बर ४ मा भारत प्रस्थान गर्नेछ । खेल भारतको नयाँ दिल्ली र हैदरावादमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी रहेको छ ।

दृष्टिविहिनहरुको राष्ट्रिय क्रिकेट टिम मंसिर १ बाट बन्द प्रशिक्षणका लागि हेटौंडा आएका थिए ।

विदाई कार्यक्रममा मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठ, टिमका प्रशिक्षक नहेन्द्र निरौलाले जितको शुभकामना सहित विदाई गरेका थिए ।

१५ सदस्यीय टिममा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी छन् ।

कप्तान खिमानन्द गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् ।