हेटौंडा । मकवानपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा मानव अधिकार उल्लघंनको उजुरी नपरेको मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ ।

बागमती प्रदेशभर गत आवमा ३३ वटा मात्रै उजुरी पर्दा मकवानपुरमा भने उजुरीको संख्या शुन्य रहेको कार्यालयले बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कार्यालयले प्रदेशभरको मानव अधिकारको अवस्थाबारे रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिएको छ ।

मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयका उपसचिव यज्ञप्रसाद अधिकारीले गत आर्थिक वर्षमा बागमतीमा ३३ वटा उजुरी परेकोमा मकवानपुरबाट भने एउटा पनि उजुरी नपरेको उल्लेख गरे । मवानपुरसहित प्रदेशका रसुवा र सिन्धुलीबाट पनि कुनै उजुरी नपरेको जनाइएको छ ।

सबैभन्दा धेरै उजुरी काठमाडौंबाट परेको छ । काठमाडौंबाट गत आवमा ८ वटा उजुरी परेको अधिकारीले बताए । ललितपुरबाट ७ वटा उजुरी पर्दा चितवनबाट ४ वटा, नुवाकोटबाट ४ वटा, सिन्धुपाल्चोकबाट ३ वटा, धादिङ र दोलखाबाट २–२ वटा तथा रामेछापबाट १ वटा मानव अधिकार उल्लघंनका उजुरी परेको हो ।

आयोगमा उजुरी परेपनि कार्यान्वयनको अवस्था भने फितलो रहेको पाइएको छ । उपसचिव अधिकारी स्वयमले उजुरीको कार्यान्वयन अवस्था फितलो रहेको स्वीकार गरे । उनले आयोगको सिफारिसलाई सरकारले गम्भिर रुपमा नलिँदा अन्तराष्ट्रिय स्तरमै देशको मानव अधिकारको अवस्था बारे प्रश्न उठ्न थालेको चिन्ता व्यक्त गरेका छन् ।

आयोगको २० वर्षको इतिहासमा नेपालमा परेका उजुरी मध्ये १० दशमलव ५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याइएको उनले बताए । २० वर्षमा देशभरबाट १ हजार १सय ९५ उजुरी परेको तथ्यांक छ । आयोगमा मानव अधिकार उल्लघंनका बारेमा उजुरी नै कम पर्नुलाई कार्यान्वयनको विश्वसनीयताको दृष्टिकोणले पनि हेरिएको छ । आयोगको सिफारिस सरकारले अटेर गर्दा उजुरी गर्नेहरुको संख्यासमेत कमी देखिएको छ ।