हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ हर्दा मैनटारका अर्जुन भोम्जन रोजगारीका लागि काठमाडौं पुग्छन् । उनले दीपक शर्माले संचालन गरेको गलैचा फ्याट्रीमा काम पाउँछन्, उमेरले १८ बर्ष नाघेका उनको बकैया–७ हिरामुनी कै एक युवती संग चिनजान हुन्छ र माया प्रेम दिनप्रतिदिन गाढा हुँदै जान्छ । गलैचा फ्याक्ट्रीमा काम गर्दा गर्दै एक अर्कामा जुधेको नजर एक बर्षभित्रैमा बकैयाकी हिरामुनी लुङवा संग विवाहमा परिणत हुन्छ । हिरामुनीले १४ बर्षकै उमेरमा वालविवाह गरेकी थिइन् । प्रेम विवाह पश्चात केही बर्ष काठमाडौं बसेका उनीहरु घर परिवारले बोलाए पछि गाउँ फर्केका थिए ।

आफ्नै गाउँमा खेतिपाती गरेर जसोतसो रोजिरोटीको जोहो गरेको यो दम्पत्तिले बच्चा पाएपछि दैनिक जिवन चलाउन र बालबच्चाको भबिष्य राम्रो बनाउन आर्थिक अवस्थाले नधान्ने भएपछि श्रीमतिको सल्लाहमा अर्जुन विदेशिने निर्णयमा पुगे । अनि उनी वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन लागे । राहदानी बनेपछि उनी विदेश जाने बाटोको खोजिमा काठमाडौं पुगे । केही समय दैनिक जस्तै पत्रिकामा आउने वैदेशिक रोजगार सम्बन्धीको विज्ञापन र मेन पावर वारे बुझ्न उनि यताउता धाउन थाले ।

विवाह भएको ५ बर्षपछि उनी रोजगारीका लागि सन् २०१३ मा साउदी अरेविया जानको लागि तयार भए । पहिलो पल्टमै उनको साउदीका लागि भिषा लाग्यो । रोजगारीका लागि साउदी जान उनले अलि अलि बचत तथा साथीभाई संग ऋण गरेर जाने खर्चको व्यवस्था मिलाए । परिवारबाट बिदा भएर उनी साउदीको जुवेल खुरानी चारमा पुगे । फोर ह्वील अपरेटरमा गएका उनले गौरीघाट मेन पावरलाई १ लाख ८५ हजार रुपियाँ बुझाएका थिए ।

उनको सम्झौंता पत्रमा २ हजार (रियाल) सुरुवाति तलब तोकिएको थियो र उनले सम्झौंता अनुसारकै तलब तथा सेवा सुबिधा पाएको बताए । फोर ह्वील अपरेटरमा गएका अर्जुनले एक दुई महिना डोजर चलाउन सिकेपछि अपरेटरको रुपमा काम गर्न थाले । उनको तलब तथा सुबिधा पनि बृद्धि भयो । उनले ३२ सय (रियाल) सम्म कमाउन थाले । परिवार संग नियमित सम्पर्कमा रहेका उनले महिना बित्ने बित्तिकै आएको सबै तलब श्रीमतिको नाममा आइएमी मार्फत पठाउन थाले ।

साउदीमा रहँदा कम्पनीको दिएको एउटा कोठामा चार जना मिलेर बस्ने गरेका थियौं, अर्जुनले भने–हामीभाई पालै पालो ड्युटी मिलाएर खाना पकाएर खान्थ्यौं । साउदीको जुवेलमै रहँदा दमाम, रियादमा समेत गएर काम गरेको अनुभव उनले सुनाए ।

परिवार संग नियमित फोन हुन्थ्यो, तलब आएपछि पैसा पठाउँथें, पुरानो दिन सम्झर्दै उनले भने–म काममै थिए, त्यसदिन श्रीमतिले फोन गरेर मलाई १७ हजार रुपियाँ अर्जेन्ट छ, पठाईदिनु भनेर फोन गरिन् । मैले ड्युटीमै रहँदा साथीभाई संग सरसापट गरेर पैसाको जोहो गरे, अनि श्रीमतिलाई पैसा पठाए । सधैं धेरै पैसा पठाउनु है भनेर फोन गर्ने श्रीमतिले यसपटक १७ हजार मात्रै पठाईदिनु भन्दा म दंग परेको थिए, उनले सुनाए ।

काम सकेर म कोठामा फर्के, भोलिपल्ट श्रीमतिलाई फोन गरे, फोन लागेन, फेरि दुई दिनपछि फोन गरे श्रीमतिको फोन लागेन । त्यसपछि श्रीमतिको काका बुद्ध भ्लोनलाई फोन गर्दा म छाङ्गाबाट खसे जस्तै भए । मलाई एक रत्ति पनि विश्वास भएन, म सपनामा भए झैं भान भयो ।

उत्ताबाट काकाले तेरि श्रीमति भागि भनेर भन्नु भयो मलाई । घर, परिवार, काका सबैतिर बुझें श्रीमतिले घरमा भएको गरगहना सहित मैले ३ बर्ष साउदीबाट पठाएको २० लाख रुपियाँ सहित गाउँकै स्याङतान थर गरेका संग भागिछे, उनले गरुङ्गो मन बनाएर भने ।

अर्काको देश, भन्ने बित्तिकै आउन नपाईने, छट्पटी भयो मलाई, के गरौं, कसो गरौं भयो उनले विगतलाई स्मरण गरे । उनीसंग न श्रीमति थिइन्, न उनले दुुःख गरेर कमाएको पैसा नै थियो । अर्जुन फर्कने तयारी गर्दै थिए, साथीभाईले सम्झाए, गाली गरेपछि उनी ३ बर्षे भिषाको समय सकाएर पुनः २ बर्ष थपेर बसे । मैले श्रीमतिलाई काठमाडौंमा डेरा लिएर राख्नु र सबै विश्वास उनीमाथि नै गर्नु नै मेरो जीवनको ठुलो भुल थियो, उनले पुराना दिन स्मरण गरे ।

अर्जुनले नेपाल फर्किएपछि हिरामुनी (श्रीमति) को बारेमा खोजतलास गर्दा पठाएको पैसा सबै खर्च गरिसकेको र गरगहना पनि बेचेर सक्काएको बताए । श्रीमति, गरगहना र पैसा सबै गुमाएका उनले परिवारको सल्लाहमा बकैया ११ की सानुमाया थिङ संग दोश्रो विवाह गरेका थिए ।

परिवार एवं श्रीमति, छोराछोरीको सुख र भविष्यको लागि भन्दै वैदेशिक रोजगारीमा गएकाहरुको परिवार पछिल्लो समय खण्डित हुँदै गएको प्रतिनिधि घटना हुन् अर्जुन । नेपाली समाजमा सदियौंदेखि पुरुष (श्रीमान)बाट महिला (श्रीमति) पीडित हुँदै आएको अनेकन घटनाहरु सार्वजनिक भइरहन्छन् । तर, पछिल्लो समय श्रीमतिबाट पनि श्रीमान् पीडित भएको घटनाहरु सार्वजनिक हुन थालेका छन् । ती घटनाहरु बढी वैदेशिक रोजगारीमा गएका पुरुषहरुसँग सम्बन्धित छन् ।

अनिल पराजुली
थप जानकारी