हेटौंडा । २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता मंसिर अन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ ।

बसामाडी जेसीजको आयोजनामा मंसिर २८ गतेबाट पुस २ गतेसम्म हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हेटौंडा–१० स्थित स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यको प्रायोजनमा हुने प्रतियोगितामा जिल्लाभरका उत्कृष्ट टोलीले सहभागिता जनाउने जेसीज अध्यक्ष चिराज अग्रवालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई ६५ हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रयाकसुट प्रदान गरिने छ । प्रतियोगिताको संयोजक सरोज पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

आयोजक महासचिव जनक शर्माका अनुसार जिल्लामा भलिबल खेलको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न वर्षेनी आफ्नो संस्थाले दुईवटा प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

जेसिआई बसामाडीका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जेसिआई बसामाडीका पुर्वअध्यक्ष सरोज अधिकारी, राष्ट्रिय भलिबल प्रशिक्षक बिनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।