हेटौंडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरमा बबण्डर मच्चिएको छ । पार्टीको जिल्ला सभापतिलाई नै कारबाही गर्नेदेखि पार्टी छोड्नेसम्मको चेतावनीले रास्वपा मकवानपुरभित्र बबण्डर भएको हो ।

रास्वपाका २४० जनाले पार्टी जिल्ला सभापति राजकुमार न्यौपानेको बर्खास्ती माग गरेका छन् । आफ्नै पार्टीका सदस्य सभापतिविरुद्ध उभिनुपर्ने स्थिति गत ४ मंसिरमा भएको निर्वाचनका कारण हो । निर्वाचन नजिक आइरहँदा न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमै पुर्‍ याएर भेट गराएको सूचना चुहिएपछि रास्वपामा हलचल आएको थियो ।

प्रजाको घर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा पर्ने मनहरी गाउँपालिका–७ मा पर्दछ । यही भूगोलबाट बानियाँ गठबन्धनको साझा उम्मेदवारका रूपमा उठेका थिए । बानियाँलाई सहयोग पुर्‍ याउनका निम्ति प्रजालाई घरमै लगेर भेटाएको आरोप न्यौपानेमाथि लागेको हो ।

पार्टीको प्रतिष्ठामाथि नै आँच आउने गरी न्यौपानेले समानुपातिक उम्मेदवार प्रजालाई बानियाँको घरमा पु¥याएको भन्दै रास्वपाका दुई प्रतिनिधिसभा उम्मेदवार भरत पराजुली, टाकाराज थापा, जिल्ला उपसभापति निराजन बर्तौला, सचिव राम प्रसाद अर्याललगायतले पार्टी केन्द्रीय समितिमा हस्ताक्षरसहितको कारबाही माग गरिएको पत्र पठाएका छन् । पार्टीले सभापतिलाई कारबाही नगरे आफूहरू पार्टीबाट निस्कनेसम्मको नेतावनी उनीहरूले दिएका हुन् ।

कारबाही माग गरिएको पत्रमा ४७ जनाले हस्ताक्षर गरेका छन् भने २ सय ४० जनाको नामसहित सहमति रहेको जनाइएको छ । न्यौपानेले बानियाँको घरमा पु¥याइएको भनिएका प्रजा नेपाली कांग्रेस मकवानपुरको पूर्वजिल्ला सदस्य थिए । रास्वपा पार्टी गठन भएपछि प्रजाले कांग्रेस छोडेका थिए । मनहरी गाउँपालिका क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार रहेका भरत पुराजुलीको नेतृत्वमा रास्वपा रोज्नेमा प्रजा पनि थिए ।

प्रजाले बानियाँको घरमा न्यौपानेले आफूलाई लगेको बताए । ‘चुनाव अगाडिको कुरा हो । मैले २ पटकसम्म त भेट्न मानेको थिइनँ । तेस्रो चोटीमा उहाँले नै आफ्नो घरबाट अटोमा हालेर बानियाँको घरमा लगेका हुन्,’ प्रजाले भने । उनले तेस्रो पटकमा मिटिङ छ भनेर बोलाएको र आफू न्यौपानेको घरमा बिहान ६ बजे पुगेको प्रजाले बताए । न्यौपानेको घरमा पुगेपछि अटोमा हालेर बानियाँसँग भेट लगेको उनले बताए ।

बानियाँसँग जम्मा १० मिनेट समय बिताएको उनको भनाइ छ । ‘मलाई हाम्रो सभापति राजकुमारजीले प्रदेशमा तपाईं हाम्रो मान्छे छैन, भोट दिनुपर्छ भन्नु भएको हो । बानियाँले मलाई केही भन्नुभएन । बरु तपाईंलाई जोगाउन सकिएन घण्टी पार्टीमा जानुभएछ भन्नुभयो,’ उनले भने, ‘बानियाँले तपाईंको उम्मेदवारले जित्छ त भनेर मात्रै सोध्नुभयो, मैले जित्छु भनेँ । तपाईंलाई जोगाउन सकिएन भन्नुभयो । बानियाँसँग न्यौपानेको कुरा भएको छ, मसँग केही कुरा भएन । त्याहाँबाट म निस्किएर चितवनको शक्तिखोर कामका लागि गएको हुँ ।’ सभापति न्यौपानेले प्रदेशमा भोट हाल्नुपर्छ भन्दा पनि आफूले प्रदेश खारेजको एजेण्डा लिएर हिँडेको भन्दै भोट कतै नहालेको प्रजा सुनाउँछन् ।

यता सभापति न्यौपानेले भने आफूमाथि चलखेल सुरु भएको बताए । विपक्ष दलका उम्मेदवार भेटेको विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेको बताए । ‘निर्वाचनमा आफ्ना उम्मेदवार जिताउने रणनीतिले जुनसुकै पार्टीका मान्छेसँग पनि भेट हुन्छ नी । त्यो भेट एउटा कुटनीतिक भेट थियो,’ न्यौपानेले भने । शिलापत्रबाट