हेटौंडा । जिल्ला प्रहरी कार्यालय परिषर भित्रै पत्रकारहरु माथि आक्रमण प्रयास भएको छ ।

पत्रकार माथि कुटपिट भएको विषयमा उजुरी दर्ता गर्न पुगेका पत्रकारहरुलाई उल्टै नेपाली काँग्रेस निकट तरुणदलका युवाहरुले आक्रमणको प्रयास गरेका हुन् । प्रहरी कार्यालय परिषर भित्र रहेका पत्रकारहरुलाई बाहिरबाट आएका कांग्रेस निकट तरुणदलमा आवद्ध युवाहरुको समुहले आक्रमण प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर बनाएका थिए ।

चुनावको समयमा नेपाली कांग्रेसभित्र भएको घात, अन्र्तघातको विषयमा बागमती एक्सप्रेस साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएपछिको विवाद बढ्दै गएपछि पत्रकारलाई कुटपिट समेत गरिएको हो । बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोहि पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि हातपात र कुटपिट गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको पल्पसा होटलमा उनिहरुमाथि हमला भएको पत्रकार बञ्जराले बताए । नेपाली कांग्रेसका युवा नेता राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ सहित करिब एक दर्जन कार्यकर्ताको समूहले आक्रमण गरेको बञ्जराको भनाई छ । आक्रमणबाट रिजालको दाईने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाईते भएका छन् ।

घटनाबारे जानकारी दिँदै प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले भेटवाल सहितको कार्यकर्ताले पत्रकारमाथि हमला गरेको बताए । आफुले छुट्याउन खोज्दा समेत उनिहरुले निरन्तर कुटपिट गरेको मगरको भनाई छ ।

आक्रमण गर्ने भेटवाल सहितका कांग्रेस कार्यकर्ताहरुमाथि ज्यान मार्ने उद्योग अन्र्तगत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गर्न लागिएको बञ्जराको भनाई छ । घटनाको निन्दा गर्दै नेकपा एकिकृत समाजवादी निटक समाजवादी प्रेस संगठनले दोषिलाई कारबाहीको माग गरेको छ ।

पत्रकारमाथी आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, जिल्ला समिति, प्रेस चौतारी मकवानपुर, प्रेस सेन्टर लगायतका पत्रकार आबद्ध संघसंस्थाहरुले बिज्ञप्ती जारी गरेका छन् । दोसीलाई तत्काल पक्राउ गरी कानूनी कार्बाही गर्नका लागि पत्रकार आबद्ध संघसंस्थाहरुले माग गरेका छन् । जनपत्रबाट साभार