हेटौंडा । एक सातादेखि हराइरहेकी एक महिलाकाे शव फेला परेको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं. ३ की ३६ बर्षीय सरस्वती वाइबाको हत्या गरेर पुरिएको अवस्थामा शव फेला परेको हो ।

एक सातादेखि घरबाट हराएकी वाइबाको शव पुरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । युवतीको हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले वताए ।

सरस्वतीले आफै आत्महत्या गरेको भए शव पुरिएको अवस्थामा फेला नपर्ने र शव पुरिएको अवस्थामा फेला परेकाले कसैले हत्या गरेर पुरेको हुन सक्ने उनको भनाइ छ । घट्ना बारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर–३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा वाइबाको शव उनकै श्रीमानले फेला पारेका थिए । ३६ वर्षिय वाइबाको शव उनका श्रीमान विरबहादुर वाइवाले फेला पारेका थिए । उनले केही दिन अघि मात्र श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटो सहित निदेवन दिएका थिए । विरबहादुर वाइवाले आफैले खोज्ने क्रममा हिजो शनिवार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

शव स्थानीय ठुलोकान्छा वाईबाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा भेटिएको थियो । प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकुर सहित खटि गएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयारपारी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
जनपत्रबाट