काठमाडौं । केही दिन यता लगातार घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । १९ सय अंक भन्दा तल झरेको नेप्से आज १९ सय अंकबाट माथि उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.९७ अंकले बढेको हो । ०.९० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९०२.२८ अंकमा पुगेको छ ।

आज २४५ कम्पनीका ४४ लाख ७० हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४.०२ रुपियाँ बराबरको कारोबार भएको हो ।

समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दुबै कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । समग्रमा बजार बढे पनि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज नबिल बैंकको उच्च कारोबार भएको छ । हिजोमात्रै ३० प्रतिशत लाभांश घोषणा गरेको उक्त बैंकको आज २१ करोड ३२ लाख ४१ हजार ६सय ८२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन हिजो आइतबार ३१.९७ अंकले बजार घट्दा १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५.०८ रुपियाँ बराबरको कारोबार भएको थियो ।