एजेन्सी । रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गरेका हुन् । पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनले कीएभलाई वित्तीय र उपकरण दुवैमा केही तत्काल सहायता प्रदान गर्ने उद्देश्य राखेको द वासिङटन पोष्टले जनाएको छ ।

युक्रेनको समर्थनमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनले पूर्वाधार मर्मतका लागि आर्थिक तथा भौतिक सामग्री जुटाउन पहल गर्नेछ । यो सम्मेलनमा फ्रान्स तथा युक्रेनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

फ्रान्सका राष्ट्रपति म्याक्रोले व्यक्तिगत रूपमा र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत सम्बोधन गर्ने तयारी छ । फ्रान्सेली राष्ट्रपतिले युक्रेनलाई समर्थन गर्न सबै प्रयास गर्ने वाचा समेत गरेका थिए ।